काठमाडौं- नेपाल चिकित्सक संघ जुनियर डक्टर्स कमिटीले विश्व युवा दिवसको अवसरमा 'एनएमए-जेडिसी युथ फेस्ट' कार्यक्रम सुरु गरेको छ। दिवसको अवसरमा सुरु भएको युथ फेस्टमा युवा डाक्टरहरुबीच विभिन्न कार्यक्रम तथा प्रतियोगिता हुने छ।
'एनएमए-जेडिसी युथ फेस्ट'को औपचारिक सुरुवात नेपाल चिकित्सक संघका केन्द्रिय अध्यक्ष डा लोचन कार्कीले शुक्रबार सुरु गरेका हुन्। संघको कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष डा कार्कीले फेस्टको सुरुवात गर्दै युवा चिकित्सकहरुलाई सफलताको शुभकामना दिए।
उनले युवा चिकित्सकहरुको चाहना तथा अपेक्षा र समस्या संघको जुनियर डक्टर्स कमिटीले पूरा गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिए। 'युवा चिकित्सकहरुको साझा आवाज भनेको जेडिसी (जुनियर डक्टर्स कमिटी) हो। त्यसकारण युवा चिकित्सकको आवाज सुन्ने र उनीहरुको समस्या समाधान गर्ने कमिटीका रुपमा जेडिसी अगाडि बढ्नुपर्छ,' उनले भने, 'जेडिसीले युवा दिवसको अवसरमा युवा चिकित्सकहरुसँग रहेका प्रतिभाहरुलाई बाहिर ल्याउन विभिन्न प्रतियोगिता र कार्यक्रम ल्याउनु सुखद सुरुवात हो। आगामी दिनमा पनि यसैगरी अगाडि बढ्नु होला।'
कमिटीका संयोजक डा अनिलविक्रम कार्कीले युवा चिकित्सकहरुको हरेक समस्या समाधानमा चिकित्सक संघ सँधै तयार रहेको जानकारी दिए। उनले चिकित्सा शिक्षा आयोगको परीक्षामा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएका कारण संघले यस विषयमा सहजीकरणका लागि पहल गरिरहेको पनि बताए।
उनले कमिटीलाई थप सक्रिय र उर्जावान रुपमा काम अगाडि बढाउन पनि सुझाव दिए।
जुनियर डक्टर्स कमिटीका सदस्य सचिव डा सन्तोष उपाध्यायले 'एनएमए-जेडिसी युथ फेस्ट' अन्तर्गत रक्तदान कार्यक्रम, कविता प्रतियोगिता, फुटसल प्रतियोगिता, गोल्डमेडलिष्ट चिकित्सकहरुलाई सम्मान गर्ने, चिकित्सकहरुको उपचार लगायतका विषयमा सहयोग गर्न च्यारिटी नाटक तथा डिनर लगायतका कार्यक्रम राखिएको जानकारी दिए।