काठमाडौं - नेप्लीज सोसाइटी अफ कम्युनिटी मेडिसिनको तेस्रो राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ। नसर्ने रोगको रोकथाम र नीति निर्माणमा केन्द्रित रहेर तीन दिने सम्मेलन सुरु भएको हो।
नसर्ने रोग वर्षेनी बढ्दै गइरहेकाले यसको रोकथाम, निदान र नीति निर्माणमा सहयोग पुग्ने गरी सम्मेलनमा बहस हुने आयोजक कमिटिका सदस्य डा एलबी बस्नेतले बताए।
उनले भने, 'नसर्ने रोगको कार्यक्रम कार्यान्वयन गर्दा कहाँ ग्याप भयो। कसरी सुधार गर्ने ? सरकारी र गैर सरकारी निकायको भूमिका के हुन्छ? लगायत विषयमा विषयगत रुपमा छलफल हुनेछ।'
सम्मेलनमा स्वास्थ्य मन्त्रालयका अधिकारीदेखि विश्व स्वास्थ्य संगठनका प्रतिनिधिको सहभागिता रहेको छ। सम्मेलनले नसर्ने रोगको क्षेत्रमा नीति निर्माणका क्रममा सहयोग पुग्ने सोसाइटीको अपेक्षा छ। सोसाइटीले जनस्वास्थ्य र अनुसन्धानका विभिन्न विषयमा काम गर्दै आएको छ। यो सम्मेलन दुई वर्षको अन्तरालमा हुँदै आएको छ।