काठमाडौं- निजी अस्पतालहरुको छाता संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)ले निजी अस्पतालहरुको स्तरोन्नती र मर्जको प्रावधान लागू गर्न माग गरेको छ।
शनिबार भएको अफिनको २२ औं साधारणसभामा स्तरोन्नती र मर्जको विषय उठेको हो। अफिनका महासचिव हेमराज दाहालले प्रतिवेदन प्रस्तुत गर्दै मर्ज हुन चाहने अस्पतालहरुका लागि मर्जको प्रावधान लागू गर्न माग गरेका हुन्।
'दुई वा सो भन्दा बढी अस्पतालहरु मर्ज हुन चाहेमा मर्जको प्रावधान लागू गरिनुपर्छ। सो गरिएमा सेवामा थप प्रभावकारिता र गुणस्तरीयतामा वृद्धि हुनेछ,' महासचिवले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ।
यस्तै स्वास्थ्य संस्था स्थापना, संचालन तथा स्तरोन्नती सम्बन्धी मापदण्ड लागू हुनु पूर्व स्वीकृति लिई आफ्नै जग्गा जमिन र भवनमा संचालित अस्पतालहरुलाई तथा मापदण्ड अनुरुप संचालित सबै अस्पतालहरुलाई बिरामीको चाप, सेवा सुविधाको गुणस्तर, जनशक्ति र प्रविधि लगायत आवश्यक व्यवस्थापकीय क्षमता हेरी स्तरोन्नती गर्ने मार्ग खुला गर्न पनि अफिनले माग गरेको छ।