काठमाडौं- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ब्रोन्कोस्कोपी सेवा सुरु भएको छ। छाती रोग विशेषज्ञ डा अनुस्मृती पालको टिमले प्रतिष्ठानमा सोमबारबाट ब्रोन्कोस्कोपी सेवा सुरु गरेको हो।
कर्णालीमा सेवा सुरु भएपछि त्यस क्षेत्रका मानिसहरुलाई उपचार गर्न सहज हुने भएको छ। सो सेवाका लागि बिरामीहरु नेपालगन्ज तथा चिवतन धाउनुपर्ने बाध्यता रहेको थियो। यो सेवा सूरु भएसँगै क्षयरोग, फोक्सोको क्यान्सर, खकारमा रगत बग्ने, दीर्घ खोकीलगायतका बिरामीको उपचारमा सहयोग पुग्ने डा पालले जानकारी दिइन्।
'बाहिर त यो सेवा छ तर यो क्षेत्रमा भने पहिलोपटक हो,' डा पालले भनिन्, 'फोक्सोको क्यान्सर, फोक्सो सुकेको, खकारमा रगत देखिने, मुखबाट रगत बग्ने, दीर्घ खोकीलगायतको समयमै निदानका लागि सहयोगी हुनेछ।'