दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महीनामा एक सय बढी महीलाले निःशुल्क प्रसूति सेवा पाएका छन्। प्रतिष्ठानले बैशाख १ गतेदेखी निशुल्क प्रसुति सेवा दिन थालेपछि सुत्केरी हुन आउने महीलाको सख्या पछिल्लो महीनाहरुमा अत्यधिक बढेको प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले बताए।
उनले आइसियु, भेन्टिलेटर, बच्चाको लागि एनआइसियु, पिआइसियु सेवासहीत विशेषज्ञ चिकित्सक थपेपछि विरामिको चाप अस्पतालमा विगतको भन्दा धेरै बढेको बताए। उनले सिमित स्रोत साधनको वावजुद पनि राम्रा–राम्रा विशेषज्ञ चिकित्सक थप्ने तयारीमा प्रतिष्ठान रहेको जानकारी दिए।
प्रतिष्ठानमा अहिले मात्रै दैनिक ओपिडिमा विशेषज्ञ चिकित्सकसँग देखाउने बिरामीको संख्या ७ सय बढी रहेको छ। प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले आफु नेतृत्वमा आएपछि प्रसुति सेवा निशुल्क गर्ने पहिलो निर्णय गरेका थिए। प्रतिष्ठानका सुचना अधिकारी निशान दाजु भट्टराइले अस्पतालमा वितेको ४ महीनामा सामान्य र जटिल गरेर ९ सय बढि महीलाले निशुल्क प्रसुति सेवा पाएको जानकारी दिए।
जस अनुसार ५ सय ८८ जना महीलाले नर्मल डेलिभरी सेवा र ३ सय ७९ जना महीलाले जटिल प्रकृतीको प्रसुति सेवा पाएको र प्रतिष्ठानमा प्रसुती सेवा निशुल्क भएपछि सुत्केरी भएर आउने महीलाको सख्या दिन प्रतिदिन बृद्धि हुँदै गएको प्रतिष्ठानका शिक्षाध्यक्ष तथा प्रसुति रोग विशेषज्ञ डा वसन्त लामीछानेले बताए।
सूचना अधिकारी भट्टराईका अनुसार गएको बैशाखमा १ सय २८ जना महीलाले नर्मल डेलिभरी, ६८ जना महीलाले जटिल प्रकृतिको प्रसुति सेवा लिएका छन् भने जेठमा १ सय ४० जनाले नर्मल, ९४ जनाले जटिल किसिमको प्रसुति सेवा पाएका छन्। त्यसैगरेर असारमा १ सय ५४ जनाले नर्मल, १ सय जनाले जटिल, साउनमा १ सय ६६ जना नर्मल र १ सय १७ जना महीलाले जटिल प्रकृतिको प्रसुति सेवा पाएका छन्। हाल प्रतिष्ठानमा आएका सुत्केरी महीलाहरुको नर्मल डेलिभरी हुन नसकेको अवस्थामा दैनिक ६ देखी १२ जना महीलाको अप्रेसन गरेर वच्चा निकालिदै आएको छ।