काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर श्यामसुन्दर यादवले उमेरहदका कारण सरकारी सेवाबाट अनिवार्य अवकाश पाएका छन्।
मन्त्रालयको १२औं तहका प्रमुख विशेषज्ञ डा यादवले १ गते बुधबारदेखि अनिवार्य अवकाश पाएका हुन्। अवकाशको अघिल्लो दिन डा यादवलाई मन्त्रालयले मंगलबार दिउसो नै बुधबार मन्त्रालयमा बिदाइ कार्यक्रम राखिएको जानकारी दिएको थियो।
तर बुधबार बिदाइ कार्यक्रममा भने उनी उपस्थित भएनन्। मन्त्रालयका कर्मचारी भने डा यादवको बिदाइका लागि कुरेर बसेका थिए।
डा यादव बिदाइ कार्यक्रममा नजानुको कारण कर्मचारीहरुले खोजी गरे। र, थाहा पाए- मन्त्रालयका उच्चतहका कर्मचारीबाट अन्तिम समयमा मन्त्रालयबाट भएको अपमानित व्यवहार।
यस विषयमा डा यादवले औपचारिक धारणा सार्वजनिक गरेका छैनन्।
यादव निकट कर्मचारीका अनुसार सरकारले साउन २६ मा नै मन्त्रालयका प्रमुख विशेषज्ञ (१२औं तह)लाई अतिरिक्त सचिव बनाउने निर्णय गरेको थियो। सोही अनुसार डा यादवले अवकासको अघिल्लो दिन अतिरिक्त सचिवको पत्र माग गरेका थिए। तर उनलाई मन्त्रालयले अतिरिक्त सचिवको पत्र दिएन।
'मन्त्रालयकी सचिव देवकुमार गुरागाईंले राजपत्रमा प्रकाशित नभएको भन्दै पत्र दिन नमानेपछि डा यादवले आफूमाथि अपमान गरिएको भन्दै बिदाइ कार्यक्रममा नआउनुभएको हो,' मन्त्रालयका एक कर्मचारीले भने।
१२ औं तहका प्रमुख विशेषज्ञलाई अतिरिक्त सचिव बनाउनु पर्ने सुझाव डा यादवले नै दिएका थिए। उनकै सुझाव अनुसार मन्त्रिपरिषदमा स्वास्थ्यले प्रस्ताव पठाएको थियो। तर अन्तिममा उनै डा यादवले पत्र भने पाएनन्।