काठमाडौं– रोजगारीका लागि बेलायतमा नेपाली नर्स लैजानको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ। स्वास्थ्य क्षेत्रका जनशक्ति लैजाने विषयमा आज (सोमबार) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सम्झौतामा हस्ताक्षर भएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सो समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
समझदारीअनुसार नेपालका स्वास्थ्य क्षेत्रका जनशक्तिले बेलायतमा रोजगारीका अवसर प्राप्त गर्नेछन्। रोजगारीका लागि बेलायत जाने श्रमिकले कुनै पनि शुल्क तिर्नुपर्ने छैन। उनीहरुले पाँच वर्षका लागि बेलायतमा काम गर्न पाउनेछन्।
बेलायतले पहिलो चरणमा १०० देखि २०० जना नर्स लैजाने सम्झौता भएको छ। उनीहरुले नेपाल र बेलायतमा आवश्यक परीक्षा दिनुपर्ने मन्त्रालयले जनाएको छ। उनीहरुको तलब बेलायती नागरिकको सरह हुने भएको छ।
केही समय अगाडि बेलायतले दक्षिण एसियाली क्षेत्रबाट स्वास्थ्य क्षेत्रमा १ लाख श्रमिक भित्र्याउने घोषणा गरेको थियो। सोही घोषणा अनुरूप नेपालबाट नर्स लैजानको लागि मन्त्रालयमा सम्झौता भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताए।
नेपालले केही समय अगाडि रोजगारी, पारिश्रमिक तथा सेवा सुविधाका आधारमा बेलायतसँग श्रम सम्बन्ध कायम गर्न आग्रह गरेको थियो।
नेपालले बेलायत जाने नर्स लगायत स्वास्थ्य क्षेत्रका कामदारको अवधि (भिसा) ५ वर्षको हुनुपर्ने प्रस्ताव गरेको छ। तर, यसबारे पूर्ण कार्याविधि भने बनिसकेको छैन।
‘बेलायतले शून्य लागमा लैजाने सहमति जनाएको छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘पछि अन्य क्षेत्रमा पनि नेपाली कामदारहरु लैजाने गरी सहमति भएको छ। सुरुमा पाइलट प्रोजेक्टको रुपमा १०० देखि २०० नेपाली लैजाने सहमति भएको हो।’