काठमाडौं- ग्रीन लाइफ हेल्थकेयरले काठमाडौँको टोखास्थित झोरमा संचालन गरेको एकदिने विशेषज्ञ सहितको स्वास्थ्य शिविर सम्पन्न भएको छ। शनिबार हेल्थकेयरले टोखा १ स्थित राधाकृष्ण युवा क्लबसँग सहकार्य गर्दै बोडेश्वर माध्यमिक विद्यालय स्वास्थ्य शिविर संचालन गरेको हो।
बिहान ८ बजे देखि १२ बजेसम्म संचालन भएको शिविरमा कुल दुई सय जनाले सेवा लिएका थिए। जसमध्ये ६० जनाले फिजिसियन, २५ जनाले स्त्री तथा प्रसुती, ३५ जनाले बालरोग र ४५ जनाले दन्त रोग सम्बन्धि सेवा लिएका थिए।
त्यस्तै, ३१ जनाको सुगर र ५ जनाको ब्लड ग्रुपिङ्ग निस्शुल्क परीक्षण गरिनुको साथै निःशुल्क औषधी समेत वितरण हुँदा सेवाग्राही प्रत्यक्षरुपमा लावान्दित भएको ग्रीन लाइफकी सीइओं समेत रहेकी डा। सरिता ढकालले जानकारी दिइन। विशेषज्ञ चिकित्सकको सेवा प्रत्यक्षरुपमा नपाएको स्थान झोरमा सो शिविर निकै विशेष र महत्वपूर्ण भएको स्थानीय गोपाल अधिकारीले जनाए।
शिविरमा वीर अस्पतालका फिजिसियन डा खेमराज अधिकारी र महिला प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा सजना श्रेष्ठ, कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डा राज कुमार विक, राष्ट्रिय ट्रमा सेन्टरका हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा क्षितिज सापकोटा, ग्रीन लाइफ हेल्थ केयरका मेडिकल अफिसर डा रञ्जित सापकोटा र दन्तरोग विशेषज्ञ डा सरिता ढकालले सेवा प्रदान गरेका थिए।