काठमाडौं- आक्रमणमा घाइते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा करण शाहलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। नेपाल चिकित्सक संघको पहलमा डा शाहलाई काठमाडौं ल्याइएको हो।
प्रतिष्ठानको आकस्मिक कक्षमा डा शाहमाथि प्रतिष्ठानकै कर्मचारी धनबहादुर शाहीले आक्रमण गरेका हुन्। शाहीले डा शाहलाई मुक्का र लात्ती हानेका हुन्।
डा शाहमाथि भएको आक्रमणका विषयमा यथार्थ जानकारी लिन नेपाल चिकित्सक संघका प्रतिनिधि जुम्ला पुगेका थिए। संघका केन्द्रिय उपाध्यक्ष डा अनिलविक्रम कार्की, महासचिव डा बद्री रिजाल र कोषाध्यक्ष डा प्रकाश बुढाथोकी जुम्लास्थित प्रतिष्ठानमा पुगेका हुन्।
घटना बारे विस्तृत रुपमा बुझ्न प्रतिष्ठान पुगेका संघका प्रतिनिधिले प्रतिष्ठानका उपकुलपति डा मंगल रावलसहितका पदाधिकारी, आक्रमणमा परेर घाइते भएका डा करण शाहसँग छलफल गरेका थिए।
उनीहरुले जुम्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरीलाई सरकारले हालै ल्याएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संसोधन) ऐन २०७९ मा रहेको व्यवस्थाका विषयमा जानकारी दिँदै कानुन कार्यान्वयन गर्ने विषयमा ध्यानाकर्षण गराएका थिए।
प्रतिष्ठानले कुटपिट गर्ने कर्मचारी शाहीलाई ४५ दिनको निलम्बन गरेको छ।