काठमाडौं- नेपाल चिकित्सक संघले चिकित्सकहरुलाई सुरक्षित, भयरहित र शान्तिपूर्ण वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण सिर्जना गर्न माग गरेको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत चिकित्सक करण शाहमाथि भएको हातपात तथा कुटपिटको घटनाबारेमा जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघले चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मीहरुलाई सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन सरकार र सरोकारवाला निकायहरुलाई माग गरेको हो।
संघले कर्णाली प्रतिष्ठानका चिकित्सक डा शाहमाथि प्रतिष्ठानकै कर्मचारीले हातपात तथा कुटपिट गरेपछि पीडकलाई थुनामा राख्न दबाब सिर्जना गरेको जनाइएको छ।
उक्त दबाबस्वरुप नै कुटपिटको घटनामा संलग्न व्यक्तिलाई थुनामा राखेर अनुसन्धान जारी रहेको बताउँदैं संघले मुद्धा अदालतमा पेश गर्न सम्बन्धित पक्षलाई दबाब सिर्जना गर्न ३ सदस्यीय टोली जुम्ला पठाएको जनाएको छ।
संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको सम्बन्धमा सरकारसँग आवश्यक प्रबन्धको अपेक्षा गरेको उल्लेख छ। एनएमएले कुटपिट र हातपातबाट घाइते भएका डा शाहलाई थप उपचारका लागि काठमाडौं ल्याएको जानकारी दिएको छ।
संघका अध्यक्ष डा लोचन कार्कीले उक्त घटनाको गम्भीर छानवीन गरी दोषीलाई कारबाही गर्न माग गरे। संघका महासचिव डा बद्री रिजालले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको सम्बन्धी कानूनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न माग गरे।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल जुम्लामा कार्यरत डा साहमाथि भदौ २ गते त्यहीका एकजना कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका थिए। उनको टाउको र नाकमा चोट लागेको छ।