भक्तपुर- भक्तपुरको सूर्यविनायक गणेश मन्दिर परिसरमा मंगलबार निःशुल्क रक्तचाप तथा मधुमेह परीक्षण शिविर सञ्चालन गरिएको छ। क्लिनिक वान भक्तपुर र सूर्यविनायक युथ क्लबको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो।
मन्दिरमा प्रत्येक मंगलबार भक्तजनहरुको भीड लाग्छ। यही अवस्थालाई मध्यनजर गरी शिविर सञ्चालन गरिएको हो। प्रत्येक मंगलबारको विहान भक्तजनहरुको चाप बढी हुने भएकाले प्रत्येक मंगलबार शिविर राख्ने योजना अनुसार शिविर भएको हो । यसरी भएको यो दोश्रो शिविर हो।
शिविर मंगलबार विहान ७ बजेदेखि १० बजेसम्म दुई घण्टा भएको थियो। क्लिनिक वान भक्तपुरका प्रबन्ध निर्देशक संतोष पौडेलले विभिन्न उमेर समूहका ४४ जना स्थानीयहरुले स्वास्थ्य परीक्षण गराएको जानकारी गराए।
गलत खानपान, नियमित शारीरिक व्यायामको कमी तथा तनाब जस्ता कारणहरुले उच्च रक्तचाप तथा मधुमेहका बिरामी दिनानुदिन बढ्दै गरेको विभिन्न सर्बेक्षणहरुले देखाउने गरेको छ।
समयमै रोग पत्ता लगाई उपचार गरेको खण्डमा घातक शारीरिक समस्याहरु तथा जटिल रोगको शिकार हुन नपर्ने सम्बन्धित चिकित्सकहरु बताउँछन्। कम खर्चमा व्यवहारिक तथा गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने उद्देश्यले रामदेवी कम्प्लेक्स्, गपली सूर्यविनायकमा सञ्चालित क्लिनिक वान भक्तपुरले यस प्रकारका सेवाहरु भक्तपुरका अन्य स्थानहरुमा पनि विस्तार गर्दै लाने बताएको छ।