अछाम- जिल्लामा प्राविधिक शिक्षा अन्तरगत स्वास्थ्यतर्फ पहिलोपटक एचए पढाई सुरु हुने भएको छ। हालसम्म जिल्लामा स्वास्थ्यतर्फ प्राविधिक शिक्षा सुरु नभएको जिल्लामा यस वर्षदेखि पढाई सुरु हुने भएको हो।
अछाम जिल्लाको सदरमुकाम मंगलसेनमा प्राविधिक शिक्षा अन्र्तगत सामान्य चिकित्सा एचए अध्ययनका लागि बाटो खुल्ला भएको हो। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदले एचए अध्यापनका लागि अनुमती दिएको छ। परिषद्ले मंगलसेन बहुप्राविधिक शिक्षालयलाई शैक्षिक सत्र २०७९ ०८० मा सामान्य चिकित्सा प्रमाण पत्र तह (एचए) मा ४० जनाका लागि कोटा निर्धारण गरेको छ।
सामाजिक अभियान्ता तथा जिल्ला स्थित सरोकारवालाहरुको पहलमा प्राविधिक धार स्वास्थ्यतर्फ एचए अध्यापन हुने भएको हो।
परिषदको आंगिक शिक्षालयका रुपमा रहेको मंगलसेन बहुप्राविधिक शिक्षालयले अनुमती पाएसँगै ४० जना सिट संख्यामा भर्नाका लागि प्रवेश परीक्षाको आह्वान गरेको छ।
हालै मात्रै परिषदबाट सम्बन्धन प्राप्त गरेकाले मंगलसेन बहुप्राविधिक शिक्षालयको आवश्यक सहजकिरण तत्कालका लागि मंगलसेन नगरपालिकाले गर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र सोडारीले बताए।
प्राविधिक शिक्षा स्वास्थ्यतर्फ जिल्लामै पहिलो पटक अध्ययनका लागि बाटो खुलेकोमा खुशी व्यक्त गर्दै स्वास्थ्य कार्यालय अछामका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत झनक ढुंगानाले यसको दीर्घकालिन रुपमा व्यवस्थापनका लागि र गुणस्तरीय शिक्षाका लागि सबै क्षेत्रबाट सहयोग हुनुपर्ने जोड दिए।
यस बिषयमा केही पहिलेदेखि नै छलफल सुरु भए पनि हाल आएर मुर्तरुप पाएकोमा यसमा सहयोग गर्ने सबै पक्षलाई उनले धन्यवाद दिएका छन्। स्वास्थ्यमा दक्ष जनशक्ति उत्पादन भए समग्र जिल्लाको स्वास्थ्यमा समेत ईटा थप्ने ढुंगानाको बिश्वास छ।