काठमाडौं- नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ ले बीपी प्रतिष्ठानमा नियम विपरित भएका नियुक्ति खारेज गर्न माग गरेको छ। बुधबार क्षेत्रीय कार्यसमितिका प्रवक्तासमेत रहेका सचिव केशव पुरीले विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन्।
विज्ञप्तीमा बिरामीको उपचार शुल्क नेपाल सरकारका अस्पताल सरह निर्धारण गर्नुपर्ने, पेइङ सेवा बन्द गर्नुपर्ने उल्लेख छ। यसैगरी, प्रयोगशाला जाँचहरुको रिपोर्ट अनलाइनमार्फत पाउने व्यवस्था गर्नुपर्ने, अतिरिक्त आकर्षक भत्ता लिने व्यवस्था खारेज हुनुपर्ने माग राखिएको छ।
कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमाण रहँदा रहँदैं पनि कारवाही नगरेकाले त्यस्तालाइृ तत्काल कारवाही गर्नुपर्ने, सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशकै भरमा अनेकौं आर्थिक निर्णयहरु गरेकाले अन्तरिम आदेशको हदम्याद तोकिनुपर्ने, दक्ष चिकित्सकलाई रोक्न ठोस योजना ल्याउनुपर्ने र शिक्षक तथा कर्मचारीको वृद्धि विकासका काम निरन्तरता दिनुपर्ने माग राखिएको छ।
विज्ञप्तिमा डा गोविन्द केसीले १२ भदौंबाट गर्ने भनिएको सत्याग्रहलाई समर्थन गर्ने र अन्य राजनीतिक दल, सामाजिक संघसंस्था र नागरिक समाजलाई सहयोग गर्न पनि अनुरोध गरिएको छ।
