काठमाडौं- स्वास्थ्यकर्मीको काम भनेकै उपचारका माध्ययबाट अरुको ज्यान जोगाउने हो। तर, उपचार गरेर अरुको ज्यान बचाउने एक स्वास्थ्यकर्मीले आफूले भने समयमा उपचार नपाएर ज्यान गुमाउनु परेको छ।
डोटीको आदर्श गाउँपालिका वडा नं ६ गिरीचौकाकी ३२ वर्षीया जानकी बोहरा खडायतको उच्च रक्तस्रावका कारण जिल्ला अस्पताल डोटीमा मृत्यु भएको हो। उनी गिरीचौका स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी(अनमी) हुन्।
बुधबार एक्कासि रक्तस्राव हुन थालेपछि उनलाई थप उपचारका लागि आदर्श गाउँपालिकाको मौवा स्वास्थ्यचौकीबाट जिल्ला अस्पताल रिफर गरिएको थियो। उनले साँझ साढे छ बजे मृत शिशुलाई जन्म दिएकी थिइन्। उच्च रक्तस्राव भएपछि उनको बेलुका ७ बजेर ५० मिनेटमा मृत्यु भएको डा सोहन शाहले जानकारी दिए।
उनको पेटमा केही दिनअघिको मृत शिशु रहेको थियो। अस्पताल पुगेको १० मिनेटमा मृत शिशुलाई जन्म दिएपनि अत्याधिक रक्तश्रावका कारण डेढ घण्टापछि उनको मृत्यु भएको हो।
उनका ९ वर्षीय छोरा छन्। उनी २०७० सालदेखि घर गिरिचौका स्वास्थ्य चौकीमा कार्यरत थिइन्।