काठमाडौँ- काठमाडौँको पुरानो बानेश्वरमा फ्रन्टलाइन अस्पताल संचालनमा आएको छ। नोबेल फाउन्डेसनबाट संचालित अस्पतालले सिनामंगलमा रहेको नोबेल हस्पिटललाई परिमार्जित गरी नयाँ नाम र दक्ष टिमसहित फ्रन्टलाइन अस्पताल संचालनमा ल्याएको हो।
करिब ५०० करोड लगानीमा बनेको अस्पतालमा उच्च स्तरीय पूर्वाधार र दक्ष चिकित्सकमार्फत विश्वस्तरीय चिकित्सा सेवा उपलब्ध गराउने अस्पतालको उदेश्य भएको प्रमुख कार्यकारी अधिकृत सुरेश कुमार मनोहरनले जानकारी दिए।
बिहीबारबाट औपचारिक रुपमा संचालनमा आएको अस्पतालले यसअघि नै करिब ३ सय फरकफरक शल्यक्रिया गरिसकेको जनाएको छ।
अस्पतालका क्लिनिकल अध्यक्ष डा चक्रराज पाण्डेले औपचारिक उद्घाटन हुनुअघि नै करिब चार महिनाको अन्तरालमा ३ सय शल्यक्रिया गरिसकेको बताए।
‘इन्डोस्कोपीबाट कानको शल्यक्रिया, घुंडाको शल्यक्रिया, पाठेघर निकाल्ने, ट्युमर निकाल्ने लगाएत ३ सय शल्यक्रिया भईसकेको छ,’ उनले भने।
सर्जिकल, मेडिकल र छिटो सर्ने रोगहरुको आईसियु गरेर ३१ वटा आईसियूसहित १०० शय्यामा संचालित अस्पतालले थप १०० शय्याको लागि प्रक्रिया अगाडि बढाएको जनाएको छ।
अस्पतालले डिजिटल एक्सरे, आठ सेकेन्डमै सिटी स्क्यान गर्न सकिने मेसिन जस्ता अन्तर्रास्ट्रिय स्तरका प्रविधिहरुलाई प्रयोग गरेर सर्वसुलभ मुल्यमा बिरामीको उपचार गर्ने जनाएको छ।
अस्पतालका कार्यकारी अध्यक्ष नवराज पाण्डेले अन्य अस्पतालहरूसँग प्रतिस्पर्धा भन्दा पनि राम्रो र प्रभावकारी सेवा कसरी दिने भन्नेमा आफूहरु लागिपर्ने बताए।
जनरल सर्जरी, अर्थोपेडिक, गाईनो, ग्यास्ट्रो, पल्मोनोलोजी, कार्डियोलोजी जस्ता २८ फरकफरक विभाग संचालन गर्ने अस्पतालको योजना रहेको उनले बताए।