गुल्मी- गुल्मीका ३८ प्रतिशत नागरिकहरु मात्रै स्वास्थ्य बीमाको पहुँच रहेका छन्। २०७६ माघ १ गतेदेखि स्वास्थ्य बीमा लागु भएको जिल्लामा स्वास्थ्य बीमामार्फत सेवा लिनेको संख्या न्यून पाइएको गुल्मी अस्पतालको तथ्यांकमा रहेको छ।
गत आर्थिक वर्षमा गुल्मी अस्पतालबाट कूल ४७ हजार ४०४ जना बिरामीले स्वास्थ्य बीमा मार्फत नभई शुल्क तिरेर उपचार गराएको गुल्मी अस्पातलका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिए। आर्थिक वर्ष २०७८/०७९ मा गुल्मी अस्पतालबाट कूल ६९ हजार चार जनाले उपचारको सेवा लिएपनि २१ हजार ६ सय जनाले स्वास्थ्य बीमामार्फत सेवा लिएको गुल्मी अस्पतालको तंथ्यांक उल्लेख छ।
आर्थिक वर्ष २०७८/७९ मा भने स्वास्थ्य बीमा गराउनेको संख्या घटेको छ। कूल १५ हजार ९५२ घरपरिवारका २८ हजार ३८० जनाले स्वास्थ्य बीमा गराएका छन्। जसमा अघिल्लो पटकको नवीकरणसहित ४ करोड ७५ लाख ६० हजार ५५० रुपैयाँ संकलन भएको स्वास्थ्य बीमा बोर्ड शाखा कार्यालय गुल्मीका प्रमुख दर्ता अधिकारी डिकेन्द्र बिष्टले जानकारी दिए।
नागरीकहरुसँग प्रत्यक्ष रुपमा जोडिएकोले नागरिकहरुलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउनका लागि स्थानिय सरकारको महत्वपूर्ण भूमिका रहने बिष्टले बताए।
स्थानीय तहमा स्वास्थ्य बीमा संयोजन समिति गठन गर्नका लागि आग्रह गरिएको भन्दै सोही अनुसार स्थानीय तह लागेमा नागरिकहरुलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउन सकिने उनको दाबी छ।
स्थानिय तहमा जनचेतनामुलक कार्यक्रम गरिने
यता धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले स्थानीय नागरिकहरुलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउनका लागि जनचेतना मूलक कार्यक्रम गर्ने बताए। आर्थिक अभाबका कारण बीमा गर्न नसक्ने नागरिकलाई गाउँपालिकाले श्रमको ब्यबस्था गरि श्रमको मूल्य दिने र त्यस मार्फत स्वास्थ्य बीमा गराउने गरी अगाडि बढेको पोखरेलको भनाई छ। आर्थिक हिसाबले सक्षम भएर पनि स्वास्थ्य बीमा नगर्नेहरुका लागि बीमाको महत्व संगै जनचेतना मूलक कार्यक्रम गर्ने उनको दाबी छ।
मुसिकोट नगरपालिकाले भने नागरिकहरुलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउनका लागि अभियान नै चलाउने योजना रहेको नगरप्रमुख जिवन खरेलल जानकारी दिए।
१ करोड ३३ लाख भुक्तानी पाउँन बाँकी
स्वास्थ्य बीमा गराएकाले तीन हजार पाँच सय रुपैयाँमा घरका पाँच जनाले एक लाख बराबरको उपचार सेवा लिन सक्छन्। आर्थिक वर्ष २०७६/०७७ मा ३ हजार ८ सय घरपरिवारका ७ हजार ८१७ जनाले स्वास्थ्य बीमा गराएका थिए। जसबाट ५३ लाख ४५ हजार १५० रुपियाँ संकलन भएको थियो।
आर्थिक वर्ष २०७७.०७८ मा कूल २१ हजार १५८ घरपरिवारका ५८ हजार ३९२ जनाले स्वास्थ्य बीमा गराएका थिए। जसबाट नवीकरणसहित तीन करोड ५८ लाख ९२ हजार ८५० रुपियाँ संकलन भएको थियो।
स्वास्थ्य बीमा मार्फत उपचार गराउने बिरामीहरुले गुल्मी अस्पतालबाट कूल ४ करोड ७३ लाख ७८ हजार ४५३ रुपियाँ बराबरको सेवा लिएको डा पच्याले जानकारी दिए। जस अन्तर्गत अस्पतालले अझै १ करोड ३३ लाख भुक्तानी पाउँन बाँकी रहेको छ।
गुल्मीमा अहिलेसम्म कूल ४० हजार ११८ घरपरिवारका ९४ हजार ५८९ जनाले स्वास्थ्य बीमा गराएका छन्। राष्ट्रिय जनगणना २०७८ अनुसार गुल्मीको कूल जनसंख्या २ लाख ४६ हजार ८३३ रहेकोमा जम्मा ३८ प्रतिशतले मात्र स्वास्थ्य बीमा गराएका छन्।