काठमाडौं- पर्सा छिपहरमाई गाउँपालिका–२ चेरङमहाका फिरोज मियाँ अन्सारीको अस्पताल र चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै परिवारले कडा कारबाहीको माग गरेको छ।
मृतकका बुवा जुमन अन्सारीले यहाँ आज पत्रकार सम्मेलन गरी वीरगञ्ज हेल्थ केयर अस्पताल र शल्यक्रिया गर्ने डा आसिफ अन्सारीका कारण छोराको मृत्यु भएको भन्दै उनीहरुलाई कडा कारबाहीको माग गरे। फिरोजलाई स्वास्थ्यमा समस्या आएपछि गत साउन २६ गते वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको मृतकका बुबा अन्सारीले बताए।
फिरोजलाई पत्थरी भएको भन्दै गत साउन २७ गते डा आसिफ अन्सारीको टोलीले शल्यक्रिया गर्दाको गल्ती नै छोराको मृत्युका कारण भएको अन्सारीको दाबी छ। उनले भने, “बाबुको शल्यक्रिया गरेको केही घण्टामा नै दुखाइ सुरु भयो, हामीले डाक्टरलाई भन्यौँ, उहाँले केही हुँदैन भन्नुभयो र फेरि साउन २८ गते दोस्रोपटक शल्यक्रिया गर्नुभयो।”
उनले दोस्रो शल्यक्रियापछि छोरालाई भेन्टिलेटरमा राखेको र साउन २९ गते डा आसिफ अन्सारीले त्यहाँ निको नहुने भनेपछि हेलिकप्टर चार्टर्ड गरेर ललितपुरको मेडिसिटी अस्पताल ल्याएको जानकारी दिए।
मेडिसिटी अस्पतालमा उपचारका क्रममा फिरोजको यही भदौ ५ गते राति ८ बजे मृत्यु भएको हो। शल्यक्रिया गर्ने बेलामा डाक्टरले तीन वटा नसा काटेको र पत्थरी भित्रै फुटाइदिएको मृतक फिरोजका परिवारको आरोप छ।
अस्पताल सञ्चालक डा अब्दुल हैज अन्सारी र शल्यक्रिया गर्ने डा आसिफ अन्सारीलाई कानूनी दायरामा ल्याएर कडाभन्दा कडा कारबाहीको मागसमेत गरिएको छ।