काठमाडौं- स्वास्थ्य खबरपत्रिकाको दशौं हेल्थ अवार्डमा बहुराष्ट्रिय कम्पनी 'यूनाइटेड इमेजिङ हेल्थ केयर' जोडिएको छ। 'स्वास्थ्यखबर हेल्थ अवार्ड'मा यूनाइटेड इमेजिङ टाइटल स्पोन्सरका रुपमा जोडिएको हो।
यो वर्षको हेल्थ अवार्ड कोभिड महामारीको रोकथाम, नियन्त्रण र उपचारमा सक्रिए रहेका व्यक्ति तथा संस्थालाई प्रदान गरिनेछ। स्वास्थ्य खबरपत्रिकाले आफ्नो स्थापना दिवसको अवसर पारेर प्रदान गर्दै आएको हेल्थ अवार्ड भदौ १७ गते हुने छ।
कोभिड महामारीमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र संस्थालाई सम्मान गर्ने हेल्थ अवार्डमा जोडिनु पाउनु संस्थाका लागि खुशीको कुरा भएको बताउँछन् यूनाइटेड इमेजिङ हेल्थ केयरको नेपालका आधिकारिक विक्रेता लुम्बिनी हेल्थ केयर प्रालीका निर्देशक सुवोध त्रिपाठी।
'कोभिड महामारीमा अहोरात्र सेवामा खटिएका स्वास्थ्यकर्मीलाई सम्मान गर्ने विषय धेरै राम्रो लाग्यो,' उनले भने, 'स्वास्थ्यखबरले विगतका वर्षमा पनि दुरदराजका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई सम्मान गर्दै आइरहेको थियो। यो वर्ष हामी अवार्डमा जोडिनु पाउनु खुशीको कुरा हो।'
यूनाइटेड इमेजिङ अवार्डमा जोडिएसँगै यो वर्षको अवार्डको नाम अब 'यूनाइटेड इमेजिङ हेल्थ अवार्ड २०७९' भएको छ।
यूनाइटेड इमेजिङ हेल्थ केयर सिटी स्क्यान, एमआरआई, डिजिटल एक्सरे, मामोग्राफी लगायत चिकित्सा क्षेत्रका अत्याधुनिक इमेजिङ उपकरण तथा प्रविधि उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी हो। सन् २०११ मा सांघाईमा स्थापित यस कम्पनीको संयुक्त राज्य अमेरिकामा आर एन्ड डी सेन्टर तथा विश्वका दर्जनौं देशमा भगिनी संस्थाहरु रहेका छन्।
यस संस्थाले गत साता सांघाईको स्टक एक्सचेन्जमा १.६ अर्ब डलर बराबर चीनमै तेस्रो ठूलो आइपीओ जारी गरेको थियो। सेयर जारी भएको पहिलो दिनमै ७५ प्रतिशत वृद्धि भई इतिहास रचेको थियो।
स्वास्थ्यखबरका अध्यक्ष अनिल न्यौपाने स्वास्थ्य क्षेत्रमा सक्रिय यूनाइटेड इमेजिङ जस्तो संस्था हेल्थ अवार्डमा जोडिनु स्वास्थ्यखबरका लागि पनि खुशीको कुरा भएको बताए।
'यो वर्ष हामीले कोभिड च्याम्पियन भनेर कोरोना संक्रमितमा खटिएकाहरुलाई अवार्ड दिन लागेको विषय उहाँहरु (यूनाइटेड इमेजिङ)लाई असाध्यै मन परेछ,' उनले भने, 'राम्रो काममा साथ दिन्छु भनेर उहाँहरु आउनु भएपछि स्वास्थ्यखबरले त्यसलाई सकारात्मक रुपमा लिँदै जोडिएका हौं।'
यसवर्ष विभिन्न नौवटा विधामा अवार्ड प्रदान गरिने छ। कोभिड महामारीको जोखिममासमेत बिरामीको सेवामा समर्पित डाक्टर, नर्स, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स सेवा प्रदायक, स्वास्थ्य संस्था, जनस्वास्थ्यकर्मी, ल्याबकर्मी, शव व्यवस्थापकलगायत विधामा अवार्ड प्रदान गर्न लागिएको स्वास्थ्य खबरपत्रिकाका प्रकाशक न्यौपानेले जानकारी दिए।
'कोभिडजस्तो विश्वव्यापी महामारीको समयमा अग्रभागमा रहेर बिरामीलाई सेवा पुर्यावउने स्वास्थ्यकर्मीहरुलाई सम्मान गर्न पाउँदा हामीलाई गौरव महसुस भएको छ,' न्यौपानेले भने, 'यसवर्षको अवार्ड खोप नपाएर मानिसहरु कोभिड संक्रमणसँग त्रसित भएरहेका बेला आफ्नो ज्यान जोखिममा पारेर कर्तव्य पालना गर्ने र मानव जीवन बचाउन योगदान पुर्याणएका समग्र स्वास्थ्यकर्मीहरुप्रति समर्पित छ।'
अवार्डको लागि नामावली संकलन, छनोट र अन्तिम निर्णयको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमेतको सहयोगमा स्वास्थ्य क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधीहरु सम्मिलित निर्णायक समिति गठन गरिएको छ।
समितिले अवार्डको नामावली संकलनका लागि आवेदन, मनोनयन र जिल्ला–जिल्लाबाट सूचना संकलन कार्य गरिसकेको छ। देशैभरीबाट विभिन्न विधाका सरकारी तथा सामुदायिक संस्थामा कार्यरत करिब ५०० स्वास्थ्यकर्मीहरुको नामावली संकलन भएको छ। तीमध्ये अवार्ड छनोट कमिटीले मापदण्डका आधारमा अवार्ड पाउनेहरुको नाम उपलब्ध गराउने छ। अवार्ड पाउनेहरुको नाम १७ गते सार्वजनिक हुने छ।
अवार्ड कार्यक्रमका लागि आवश्यक तयारी पूरा भएको स्वास्थ्यखबरका अध्यक्ष न्यौपानेले जानकारी दिए।
स्वास्थ्य खबरपत्रिकाले पहिलो वार्षिकोत्सवदेखि नै अवार्ड प्रदान गर्दै आइरहेको छ। गत दुई वर्ष कोभिड भाइरसको महामारीका कारण अवार्ड र वार्षिकोत्सव कार्यक्रम हुन सकेको थिएन।