काठमाडौं - ललितपुर महानगरपालिकाका महिला जनप्रतिनिधिहरुले महिला स्वास्थ्य र वातावरण स्वास्थ्यलाई ध्यानमा राखेर पुनः प्रयोग गर्न मिल्ने प्याडको प्रयोग बढाउनुपर्नेमा जोड दिएका छन् । एक्सपोज नेपालले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने जनप्रतिनिधिले केमिकलयुक्त प्याडको सट्टा पुनः प्रयोग गर्न मिल्ने कपडाको प्याड प्रयोग गर्ने बानीको विकास गर्नुपर्नेमा जोड दिएका हुन्।
कार्यक्रममा सम्बोधन गर्दै महानगरकी उपप्रमुख मञ्जिला शाक्य बज्राचार्यले पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउने उद्योग को प्रवर्द्धन गरी त्यसको प्रयोग बढाउनुपर्ने बताए। उनले महानगरपालिकाले यस्तो प्याड बनाउने तालिम प्रदान गरी महानगरभित्रै उत्पादन बढाइ देशबाहिरबाट हुने केमिकलयुक्त प्याडको आयात रोक्न सकिने बताइन्। उनले यसका लागि ललितपुर महानगरपालिकाले योजना नै बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्। महिनावारी स्वास्थ्य र पुनः प्रयोग गर्न मिल्ने सजिलो प्याडको उत्पादनमा काम गरिरहेको एक्सपोज नेपालसँग महानगरले सहकार्य गर्ने उनको भनाइ थियो।
एक्सपोज नेपालका अध्यक्ष ज्ञान मर्हजनले महिलाहरुको स्वास्थ्य र आर्थिक पाटोलाईसमेत ध्यानमा राखेर महिलाहरुलाई सजिलो प्याड बनाउने तालिम प्रदान गर्दै आइरहेको जानकारी दिए। उनले सुति, फ्लाटिनका कपडाबाट स्वस्थकर लिकेज नहुने र टिकाउ, कम खर्चिलो प्याड बनाउन सकिने तथा कपडा र त्यसमा प्रयोग भएका सामग्रीको गुणस्तर मापन गरेर मात्र प्रयोगका लागि बजारमा पठाउने गरिएको जानकारी दिए।
कार्यक्रममा बोल्दै महिला वडा सदस्यहरुले वडा वडामा यस्तो तालिम सञ्चालन गरी घरघरमै प्याड उत्पादन गरेर विदेशबाट आयात हुने प्याड विस्थापन गर्नुपर्ने बताए। उनीहरुले स्थानीय तहले बजेट विनियोजन गरेर नै यसकिसिमका तालिम सञ्चालन गर्नुपर्ने र पुनः प्रयोग गर्न मिल्ने प्याडको प्रयोग बढाउनुपर्ने बताए। वडामा स्वस्थ र स्वस्थ महिनावारीका लागि आफूहरुले भूमिका निर्वाह गर्ने उनीहरुको प्रतिबद्धता थियो।
कार्यक्रममा जनप्रतिनिधिहरु सानु अवाले, लक्ष्मी शर्मा दाहाल, संगीता अछामी, अलिसा डंगोल, अन्जना कार्की, सरस्वती जोशी, यमुना श्रीसलगायतको उपस्थिति थियो ।स्वस्थ र स्वस्थ महिनावारी तपाईं हाम्रो रखवारी विषयक अन्तरक्रियामा ललितपुर महानगरका २९ वटै वडाका महिना जनप्रतिनिधिको सहभागिता रहेको थियो ।