तनहुँ- करिब चार वर्षदेखि तनहुँ कारागार स्वास्थ्यकर्मी विहीन छ। अहेव सक्षम घिमिरे सरुवा भएपछि विसं २०७५ असोजदेखि हालसम्म कारागार स्वास्थ्यकर्मी विहीन रहेको तनहुँ कारागारले जनाएको छ।
उक्त पदपूर्ति हुन नसक्दा कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य परीक्षणमा समस्या भएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए।
लामो समय स्वास्थ्यकर्मी विहीन हुँदा कैदीबन्दीको सामान्य उपचारमा समस्या भएको उनले बताए। सुरक्षाका दृष्टिकोणले कैदीबन्दीलाई उपचारका लागि लैजाँदा हातमा हतकडी लगाउनुपर्ने भए पनि बाहिरी जनमानसमा चिनिने लाजले उनीहरू रोग लुकाएर बस्ने अवस्था छन्।
रिक्त रहेको अहेबको पदपूर्तिका लागि लोकसेवा आयोगमा लेखी पठाइएको निमित्त जेलर अधिकारीले जानकारी दिए। अब छिट्टै उक्त पद पदपूर्ति हुनेमा आफूहरू आशावादी भएको उनले बताए।
तनहुँ कारागारमा अहिले ११ महिला र ब्लक ‘ए’ मा ६३ कैदी र ५५ थुनुवा, ब्लक ‘बि’ मा ६१ कैदी र ८६ थुनुवा, ब्लक ‘सि’ मा १० कैदी र ६ थुनुवा गरी २८१ जना पुरुष कैदीबन्दी रहेका छन्। एक सय ३५ क्षमताको पुरुष कारागारमा दोब्बरभन्दा बढी कैदीबन्दी राख्नुपर्दा गर्मी मौसममा सरुवा रोगदेखि विभिन्न किसिमका समस्या झेल्दै आएको कारागारले जनाएको छ। रासस