काठमाडौं- नेपाल चिकित्सक संघले यही असोज २ र ३ गते गर्न लागेको दोस्रो राष्ट्रिय सम्मेलन (एनएमए नेसनल हेल्थ समिट २०२२)मा सहभागीताका लागि आवेदन दिनेको संख्या बढ्न थालेको छ।
संघका महासचिव डा बद्री रिजालका अनुसार संघले आवेदन खुला गरेसँगै अनलाइन दर्ता गराउनेहरुको संख्या बढेको हो। 'हरेक दिन अनलाइन रजिष्ट्रेसन गर्नेको संख्या बढीरहेको छ,' उनले भने।
सम्मेलनमा सहभागीताका लागि अनलाइन दर्ता र संघको कार्यालयमा गएर दर्ता गर्न सकिन्छ।
अनलाइनबाट आवेदन दिनका लागि https://nhs.nma.org.np/registration मा गएर दर्ता गर्न सकिनेछ।
यसका साथै तलको क्यूआर कोडमा स्क्यान गरेर पनि दर्ता गर्न सकिनेछ।

सम्मेलनमा सहभागी हुनका लागि पाँच सय, एक हजार र एक हजार पाँच सय शुल्क तोकिएको छ। संघका सदस्य रहेका मेडिकल अफिसर र रेजिडेन्टलाई पाँच सय, संघका सदस्य रहेका कन्सलटेन्ट डाक्टरलाई एक हजार र संघको सदस्य नरहेका डाक्टरहरुलाई एक हजार पाँच सय शुल्क तोकिएको संघका सम्मेलन प्रचारप्रसार समितिका संयोजक डा प्रकाश बुढाथोकीले जानकारी दिए।
संघले यो वर्ष पोस्ट प्यान्डेमिक एचिभ्मेन्टस्, च्यालेन्जेज एन्ड अपर्चुनिटी अर्थात महामारीपछिको उपलब्धि, चुनौती र अवसर विषयमा केन्द्रित रहेको राष्ट्रिय सम्मेलन गर्न लागेको हो। संघका अनुसार सम्मेलन काठमाडौंको बबरमहलस्थित कार्की ब्यांकेटमा हुनेछ।
सम्मेलनमा विभिन्न सात वटा विषयमा छलफल हुने छ। यो पटक सूर्तीजन्य पदार्थले स्वास्थ्य र स्वास्थ्य प्रणालीमा पारेको असर, चिकित्सा शिक्षाका चुनौती र अवसर, संघको पहिलो राष्ट्रिय सम्मेलनको उपलब्धि, महामारीपछि स्वास्थ्य क्षेत्रका चुनौती र अवसर, खोप, औषधि र उपकरणहरुको उचित भण्डारण, ढुवानी र वितरण, नेपालमा चिकित्सा पर्यटन र चिकित्सा क्षेत्रका जनशक्तिलाई स्वदेशमै अवसर र प्रेरणा विषयमा छलफल हुने छ।
जर्नल अफ नेपाल मेडिकल एसोसिएसनको प्रकाशन शुरुवात भएको सेप्टेम्बर महिनालाई प्रत्येक वर्ष वार्षिक क्यालेण्डर इभेन्टको रुपमा मनाउने संघको केन्द्रीय कार्यकारिणी समितिको निर्णय अनुसार गत वर्षदेखि राष्ट्रिय सम्मेलन गर्न थालिएको संघका अध्यक्ष डा लोचन कार्कीले जानकारी दिए।
संघले यसअघि गत वर्ष असोजमा गरेको पहिलो राष्ट्रिय सम्मेलन कोभिड महामारीका कारण भर्चुअवल र भौतिक दुवै गरी हाइब्रिड भएको थियो। गत वर्षको सम्मेलनमा विभिन्न १२ बुँदे घोषणा सार्वजनिक भएको थियो। पहिलो सम्मेलनमा संघीयातामा माहामारीको पुर्वतयारी र व्यवस्थापनको अवस्था, महामारीमा जनशक्ति तथा सेवा प्रवाहको अवस्था, कोरोना विरुद्धको खोप कार्यक्रममा सरकारको रणनीति, महामारीमा बहुक्षेत्रीय प्रतिक्रिया अवसर, चुनौती र महामारीबाट सिक्नुपर्ने पाठ, महामारीको पूर्वतयारीमा आउने नयाँ अवसर लगायत मुख्य ५ विषयवस्तुमा आधारित रहेर छलफल भएको थियो ।
संघका अनुसार यो सम्मेलनमा अन्य सम्मेलनभन्दा धेरै कुरामा फरक र पृथक छ। अन्य सम्मेलनहरु निश्चित विषय र अनुसन्धानमा केन्द्रित हुन्छन्। तर संघको सम्मेलन भनेको स्वास्थ्य क्षेत्रको समग्र विकासका लागि सरकारलाई नीतिगत सुधार र कार्यक्रम बनाउन सुझाव दिने विषयमा केन्द्रित हुन्छ।
‘नेपाल चिकित्सक संघको सम्मेलन भनेको सरकारलाई नीतिगत विषयमा सुधार दिने थिंक ट्यांकका रुपमा रहनेछ,’ अध्यक्ष डा कार्कीले भने, ‘अन्य सम्मेलनहरु वैज्ञानिक विषयहरुमा केन्द्रित रहनेछन् । तर हाम्रो सम्मेलन भनेको सरकारका नीति, योजना, कार्यक्रम, रणनीति तथा कानुन बनाउन सुझाव दिने महत्वपूर्ण मञ्चका रुपमा हुनेछ।’
उनका अनुसार चिकित्सक संघको सम्मेलनमा आएका सुझावहरुलाई एकीकृत गरेर सरकारलाई सुझाव दिएपछि चिकित्सक संघले उक्त विषयमा के भयो भनेर निरन्तर फलोअप पनि गर्नेछ। त्यसकारण सरकार तथा सरोकारवालाहरुलाई हरेक वर्ष संघको सम्मेलनबाट के कस्ता नयाँ सुझावहरु आउनेछ भनेर सबैले प्रतिक्षा गर्ने आवस्था रहने छ।
संघले गर्ने सम्मेलन हरेक वर्ष निरन्तर रहनेछ। पहिलो वर्षमा भएको सम्मेलनको निरन्तरता स्वरुप नै मुख्य विषयमा केन्द्रित रहेर नै यो वर्षको विषय तय भएको हो। यस्तै आगामी वर्ष हुने सम्मेलन पनि यही वर्षको थिम विषय अनुसार नै निरन्तर हुनेछ।