चितवन– चालु आर्थिक वर्षको साउन महिनामा ७६ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ। नौ सय ८९ जनाको परीक्षणका क्रममा सो संख्यामा डेंगुको संक्रमण पुष्टि भएको हो।
गत वर्षको साउनमा छ जनामा मात्रै संक्रमण देखिएको थियो। स्वास्थ्य कार्यालय चितवनका अनुसार साउन महिनामा संक्रमण देखिनेमा खैरहनी र रत्ननगर नगरपालिकामा बढी रहेको छ।
कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार जिल्लाको भरतपुर अस्पताल, राप्ती, खैरहनी, रत्ननगर, भरतपुरको शिवनगर, माडीलगायतका अस्पतालमा डेंगु रोगको परीक्षण गरिँदै आएको छ। उनले भने, ‘यो वर्ष डेंगुको संक्रमण फैलिने जोखिम उच्च छ।’ भदौ, असोज र कात्तिक डेंगुका लागि उच्च जोखिमका महिना रहेको उनले बताए।
डेंगु ज्वरो एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ। यो लामखुट्टेले प्रायः बिहान र साँझ टोक्ने गरेको पाइन्छ। डेंगुको संक्रमण देखिए एक्कासि ज्वरो आउने, ज्वरो पाँच-सात दिनसम्म रहने, आँखाका गेडी तथा टाउको दुख्ने, शरीर कटकट दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने जस्ता लक्षण देखापर्ने उहाँले जानकारी दिए।
भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कालीदास अधिकारीले अहिले दिनहुँजसो डेंगुका बिरामी अस्पताल आउने गरेको बताए। उनले भने, ‘पहिलाको भन्दा अहिले डेंगुका बिरामीको सङ्ख्या बढ्दो छ।’ डा अधिकारीका अनुसार अहिले डेंगुका बिरामीको वृद्धिदर पाँचदेखि सात प्रतिशत रहेको छ ।
डेंगु रोगको संक्रमणबाट बच्नका लागि पूरा बाहुला भएको कपडा लगाउने, झुलभित्र सुत्ने, घर वरिपरि सरसफाइ गर्नुपर्ने उनको सुझाव छ।
घर वरिपरि भएका खाल्डा पुर्ने र पानी जम्ने ठाउँ भए त्यहाँ हप्तामा एक पटक मट्टितेल छर्कने गर्नुपर्ने स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। गत आर्थिक वर्ष जिल्लामा पाँच हजार चार सय ५४ जनाको परीक्षण गर्दा तीन सय तीन जनामा डेंगुको संक्रमण देखिएको थियो।