काठमाडौं- नेपाल चिकित्सक संघले बनाउन लागेको एनएमए मेडिकल म्युजियमका लागि वरिष्ठ चिकित्सक डा मदन पियाले आफूसँग भएका मेडिकल उपकरण र सामग्री उपलब्ध गराएका छन्।
डा पियाले बुधबार संघको कार्यालयमा पुगेर आफूसँग भएका ऐतिहासिक पहिलो पुस्ता (फस्ट जेनेरेसन)का मेडिकल उपकरण हस्तान्तरण गरेका हुन्। डा पियाले संघका अध्यक्ष डा लोचन कार्कीलाई सामग्री हस्तान्तरण गरेका हुन्।
डा पियाले ऐतिहासिक इसिजी, पकेट स्पाइरोमिटर, नेबुलाइजर, नाक, कान, घाँटी परीक्षण सेट, ब्रोन्कोस्कोपको प्रकाश, पकेट पिक फ्लो मिटर, स्पाइग्मोमानोमिटर लगायतका उपकरण हस्तान्तरण गरेका हुन्।
डा पियाले आफूले नै पुराना उपकरणको संग्रह गरिरहेका थिए। एनले चिकित्सक संघले म्युजियम नै बनाउन लागेको जानकारी पाएपछि आफूसँग भएका उपकरणहरु ल्याएर दिएको जानकारी दिए।
'म आफैं म्युजियम बनाउने तयारीमा थिएँ,' उनले भने, 'तर चिकित्सक संघले बनाउन लागेको थाहा पाएपछि उहाँहरुको काममा साथ दिन लागेको हुँ। म सँग भएका अन्य उपकरणहरु प्नि खोजेर संघलाई उपलब्ध गराउँछु।' उनले अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पनि संघको म्युजिएममा सहयोग गर्न आग्रह गरे।
संघका अध्यक्ष डा कार्कीले डा पियाले गरेको सहयोगबाट म्युजियम बनाउने कामलाई थप बल मिलेको बताए। उनले म्युजियमका लागि ऐतिहासिक र पुराना सामग्रीहरुको संकलनको काम भइरहेको पनि जानकारी दिए।