काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ।
काठमाडौंमा रहेका सरकारी अस्पतालहरुको सरसफाइ र सेवासम्बन्धी मन्त्री खापुङ र मेयर शाहबीच भेटवार्ता भएको हो। करिब एक घण्टा लामो छलफलमा मेयर शाहले सरकारी अस्पतालमा स्वास्थ्य सेवा सर्वसुलभ नभएको, सरसफाईको कमी भएको गुनासो आएको बताए। यही विषयमा स्वास्थ्य मन्त्री खापुङसँग भेट गर्न मेयर शाह मन्त्रालय पुगेको मन्त्रीका प्रेस सल्लाहकार केदार प्रसाद गौतमले जानकारी दिए।
उनले भने, ‘मेयर शाहलाई जनताले सरकारी अस्पतालहरुमा सेवा सर्वसुलभ भएन। सरसफाइ भएन र व्यवहार पनि राम्रो भएन भन्ने गुनासो आएको भन्नु भएको थियो। त्यही विषयमा छलफल गर्न उहाँ आज मन्त्रीज्यूसँग कुरा गर्न आउनुभएको थियो।’
मन्त्री खापुङले यसअघि नै सरकारी अस्पतालका निर्देशकहरुलाई स्वास्थ्य सेवा सर्वसुलभ बनाउन र सरसफाई गर्न केही साताअघि निर्देशन दिइसकेको उनले बताए। मेयर शाहले यसअघि सरकारी अस्पतालहरुमा अनुगमन जान मन्त्री खापुङलाई अनुरोध समेत गरेका थिए। तर मन्त्री खापुङले पहिले अस्पतालका निर्देशकहरुसँग प्रगति विवरण अध्ययन गरी अघि बढ्नुपर्ने बताएका थिए।
प्रेस सल्लाहकार गौतमले भने, ‘काठमाडौंका मेयरले सरकारी अस्पतालहरु फोहोर छन्। बेड सिटहरु फेरिँदैन। ट्वाइलेट सफा हुँदैन भन्ने विषयहरुमा जिज्ञासा राख्नु भएको थियो। मन्त्रीज्यूले पहिले नै यससम्बन्धी निर्देशन दिइसक्नु भएकाले अस्पतालका निर्देशकहरुले ब्रिफिङ गर्नु भएको थियो।’
मेयर शाहले वीर अस्पतालको अव्यवस्थित पार्किङको विषयमा समेत चासो राखेका थिए। जवाफमा अस्पतालका निमित्त प्रशासकीय अधिकृत डा भूपेन्द्रकुमार बस्नेतले बिहान कर्मचारीहरुकै साधनले भरिभराउँ हुने भएकाले अन्यलाई पार्किङको व्यवस्थापन गर्न नसकिएको बताए। साथै पार्किङलाई व्यवस्थित बनाउन वैकल्पिक उपाय खोजेर व्यवस्थापन गरिने बस्नेतको भनाईलाई उदृत गर्दै गौतमले जानकारी दिए।
आजको भेटवार्तामा स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, स्वास्थ्य सचिव देवकुमारी गुरागाई र डा रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंह, वीर अस्पतालका निमित्त प्रशासकीय अधिकृत डा भूपेन्द्रकुमार बस्नेत, प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डा अमिरबाबु श्रेष्ठ लगायत उपस्थित थिए।