काठमाडौं - डा प्रकाश बुढाथोकीले केन्द्रीय कारागार अस्पतालको निर्देशकको रुपमा जिम्मेवारी सम्हालेका छन्।
डा बुढाथोकीले शुक्रबार कारागार अस्पतालको निर्देशकको रुपमा जिम्मेवारी सम्हालेका हुन। पद्भार ग्रहण गर्दै डा बुढाथोकीले अस्पतालको विकासका लागि काम गर्ने बताए।
उनले भने, ‘अस्पतालको विशेषज्ञ सेवा, भौतिक पूर्वाधार लगायतमा कहाँ कहाँ समस्या छ भनेर पहिला बुझ्छु। त्यसपछि अस्पतालको सेवा र पूर्वाधारका लागि योजना बनाएर काम गर्छु।’
कारागार अस्पतालमा सबै आधारभूत सेवा उपलब्ध गराउने र विशेषज्ञ सेवाका लागि मात्र बाहिर रिफर गरिने उनले बताए। अस्पतालको आफ्नै एम्बुलेन्स खरिदका लागि समेत पहल गर्ने उनले बताए।
‘सामान्य आधारभूत सेवा लिन पनि हतकडी लगाएर वीर लगायत अन्य अस्पताल लैजान नपरोस्। विशेषज्ञ सेवाका लागि रिफर गर्ने गरी सेवाहरु उपलब्ध गराउने योजना बनाएको छु।’ उनले भने।
देशभर रहेका ७७ वटै कारागारका कैदीहरुलाई नसर्ने रोग, व्यक्तिगत सरसफाई, स्वस्थ जीवनशैलीका बारेमा जनचेतना दिने योजना रहेको उनले बताए। केन्द्रीय कारागार अस्पताल ३० शय्याको हो। यसअघि डा बुढाथोकी वीर अस्पतालमा कार्यरत थिए।