काठमाडौं– नेपाल चिकित्सक संघको वर्तमान कार्यसमितिको कार्यकाल सकिँदै छ। आगामी पुसमा संघको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन हुँदैछ।
वर्तमान कार्यसमितिको कार्यकाल सकिनै लाग्दा चिकित्सा क्षेत्रमा संघको आगामी निर्वाचनमा कुन पदमा कस-कसको उम्मेदवारी रहन्छ भन्ने विषयमा चर्चा सुरु भइसकेको छ।
कांग्रेस निकट प्रजातान्त्रिक प्यानल र एमाले निकट प्रगतिशीलतर्फका केही चिकित्सकहरुको अध्यक्ष र महासचिव पदमा दावेदारी रहने चर्चा छ।
आगामी निर्वाचनमा संघको अध्यक्ष पदका लागि प्रजातान्त्रिकतर्फका चार जना चिकित्सकको नाम चर्चामा छ भने प्रगतिशीलतर्फका ५ जना चिकित्सकको नाम चर्चामा छ।
प्रजातान्त्रिकतर्फ अध्यक्षमा डा भुपेन्द्र बस्नेत, डा अनिल कार्की, डा बद्री रिजाल र डा यम दुवाको नाम चर्चामा छ।
डा बस्नेत वीर अस्पतालका प्रमुख हुन् भने डा कार्की नेपाल चिकित्सक संघका हालका उपाध्यक्ष र प्रजातन्त्रवादी चिकित्सक संघका अध्यक्ष हुन्। डा रिजाल नेपाल चिकित्सक संघका महासचिव हुन्।
यस्तै डा दुवा गैरसरकारी चिकित्सक संघका अध्यक्ष हुन्।
यस्तै, प्रगतिशीलतर्फ डा दिपेन्द्र पाण्डे, डा सन्तोष पौडेल, डा पुष्पमणि खराल, डा प्रेनित पोखरेल र डा गणेश गुरुङको नाम चर्चामा छन्। डा पाण्डे सरकारी चिकित्सक संघका पूर्वअध्यक्ष हुन् भने डा पौडेल राष्ट्रिय चिकित्सक संघका अध्यक्ष हुन्।
यस्तै, डा खराल यसअघिको निर्वाचनमा अध्यक्ष पदमा डा लोचन कार्कीसँग पराजय भएका थिए।
अध्यक्षको दावेदारीमा नाम चर्चामा रहेका डा पोखरेल राष्ट्रिय चिकित्सक संघका कोषध्यक्ष हुन् भने डा गुरुङ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पूर्व उपकुलपति हुन्।
यस्तै, संघको आगामी निर्वाचनका लागि महासचिव पदमा प्रजातान्त्रिकतर्फका डा प्रकाश बुढाथोकी, डा विश्वराज दवाडी र डा सञ्जिब तिवारीको नाम चर्चामा छ।
प्रगतिशीलतर्फ महासचिवमा डा छवि पन्थी, डा लिजन महर्जन र डा निरज अर्यालको नाम चर्चामा छ। डा महर्जन वर्तमान कार्यसमितिका सदस्य समेत हुन्। उनी यसअघिको निर्वाचनमा प्रगतिशील प्यानलका विजयी हुने एक मात्र उम्मेदवार थिए।