काठमाडौं- चिकित्सकहरुको छाता संस्था नेपाल चिकित्सक संघले गर्न लागेको दोस्रो राष्ट्रिय सम्मेलन (एनएमए नेसनल हेल्थ समिट २०२२) दुई दिन पछाडि सरेको छ।
सम्मेलन अब असोज ४ र ५ गते हुने भएको छ। यसअघि संघले असोज २ र ३ गते सम्मेलन गर्ने तयारी गरेको थियो। असोज २ र ३ गते मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दलहरुले समानुपातिक निर्वाचनका लागि उम्मेदवारहरूको बन्द सूची पेस गर्ने कार्यक्रम रहेको र सो समयमा प्रधानमन्त्री लगायतका नेताहरु व्यस्त हुने भएपछि सम्मेलन दुई दिन पछाडि सारिएको हो।
'सम्मेलनको उदघाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यतालिका बनाइएको छ,' सम्मेलन प्रचारप्रसार समितिका संयोजक डा प्रकाश बुढाथोकीले भने, 'उहाँहरुको व्यस्त कार्यतालिका र ३ गते संविधान दिवस समेत रहेकाले दुई दिन पछि सारिएको हो।'
संघले सम्मेलनका लागि आवश्यक तयारी अगाडि बढाइरहेको छ। संघले यो वर्ष पोस्ट प्यान्डेमिक एचिभ्मेन्टस्, च्यालेन्जेज एन्ड अपर्चुनिटी अर्थात महामारीपछिको उपलब्धि, चुनौती र अवसर विषयमा केन्द्रित रहेको राष्ट्रिय सम्मेलन गर्न लागेको हो। संघका अनुसार सम्मेलन काठमाडौंको बबरमहलस्थित कार्की ब्यांकेटमा हुनेछ।
सम्मेलनमा विभिन्न सात वटा विषयमा छलफल हुने छ। यो पटक सूर्तीजन्य पदार्थले स्वास्थ्य र स्वास्थ्य प्रणालीमा पारेको असर, महामारीले चिकित्सा शिक्षामा पारेको असर र अवसर, संघको पहिलो राष्ट्रिय सम्मेलनको उपलब्धि, महामारीपछि स्वास्थ्य क्षेत्रका चुनौती र अवसर, खोप, औषधि र उपकरणहरुको उचित भण्डारण, ढुवानी र वितरण, नेपालमा मेडिकल टुरिजमु र चिकित्सा क्षेत्रका जनशक्तिलाई स्वदेशमै अवसर र प्रेरणा विषयमा छलफल हुने छ।
जर्नल अफ नेपाल मेडिकल एसोसिएसनको प्रकाशन शुरुवात भएको सेप्टेम्बर महिनालाई प्रत्येक वर्ष वार्षिक क्यालेण्डर इभेन्टको रुपमा मनाउने संघको केन्द्रीय कार्यकारिणी समितिको निर्णय अनुसार गत वर्षदेखि राष्ट्रिय सम्मेलन गर्न थालिएको संघका अध्यक्ष डा लोचन कार्कीले जानकारी दिए।
अध्यक्ष डा कार्कीका अनुसार सम्मेलनमा विज्ञहरुसँग अन्तरक्रिया गरी निस्कने निचोडलाई कार्यपत्र बनई सरकारलाई सुझावको रुपमा पेस गरिने छ। 'यो सम्मेलनमा विभिन्न विषयहरुमा गहन छलफल हुनेछ' उनले भने, 'छलफलबाट आएका सुझावहरुलाई हामीले स्वास्थ्य मन्त्रालयलाई नीतिहरु बनाउन र अन्य सुधारका लागि दिने छौं ।'
दोस्रो सम्मेलनका लागि संघले आयोजक समिति बनाएर काम अगाडि बढाइसकेको छ। संघका पूर्व अध्यक्ष अञ्जनीकुमार झाको अध्यक्षतामा गठित आयोजक समितिमा संघका अध्यक्ष डा लोचन कार्की, महासचिव डा बद्री रिजाल, डा एन्जल मगर र डा चन्दा कार्की छन्। डा चन्दा कार्की सम्मेलनको वैज्ञानिक समिति अध्यक्ष हुन्।
डा कार्कीको नेतृत्व रहेको वैज्ञानिक समितिमा डा सन्ध्या चापागाईं, डा अनुपमा कार्की, डा अनुपमा सुवाल, डा कृष्ण अग्रवाल, डा सरोजा कार्की पाण्डे, डा सुमनराज ताम्राकार, डा पवनकुमार हमाल, मिलनचन्द्र खनाल, डा सुजित भुषाल र डा अलिस्का निरौला छन्। सम्मेलनको सल्लाहकार समितिमा डा रमेशकान्त अधिकारी, डा केदारनरसिंह केसी, डा किरण रेग्मी, डा कुसुम थापा र डा मिता सिंह हुन्।
सम्मेलनका लागि डा बद्री रिजालको अध्यक्षतामा रिसेप्सन र रजिष्ट्रेसन समिति, डा अनिलविक्रम कार्कीको अध्यक्षतामा फन्ड रेजिङ समिति र डा प्रकाश बुढाथोकीको अध्यक्षतामा प्रचारप्रसार समिति गठन भएको छ।सम्मेलनमा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा राजेश सम्भाजिराव पाण्डवले पनि विशेष धारणा राख्नेछन्।
सम्मेलनमा सहभागीताका लागि अनलाइन दर्ता र संघको कार्यालयमा गएर दर्ता गर्न सकिन्छ।
अनलाइनबाट आवेदन दिनका लागि https://nhs.nma.org.np/registration मा गएर दर्ता गर्न सकिनेछ।
यसका साथै तलको क्यूआर कोडमा स्क्यान गरेर पनि दर्ता गर्न सकिनेछ।
सम्मेलनमा सहभागी हुनका लागि पाँच सय, एक हजार र एक हजार पाँच सय शुल्क तोकिएको छ। संघका सदस्य रहेका मेडिकल अफिसर र रेजिडेन्टलाई पाँच सय, संघका सदस्य रहेका कन्सलटेन्ट डाक्टरलाई एक हजार र संघको सदस्य नरहेका डाक्टरहरुलाई एक हजार पाँच सय शुल्क तोकिएको संघका सम्मेलन प्रचारप्रसार समितिका संयोजक डा प्रकाश बुढाथोकीले जानकारी दिए।