काठमाडौं- डोल्पाको शे-फोक्सुण्डोमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। हाम्रो नेपाल स्वस्थ नेपालको आयोजनामा शिविर संचालन भएको हो।
दौतरी र म्याक्स ब्रोजको सहकार्यमा भदौ ७ र ८ गते शे फोक्सुण्डो ८ को गोविन्द प्राथमिक विद्यालय र ताप्लेचा स्वास्थ्य चौकीमा सो शिविर सम्पन्न भएको अध्यक्ष डा उत्सव यादवले जानकारी दिए। शे-फोक्सुण्डो गाउँपालिकामा एक जना मात्र अहेव कार्यरत छन्। स्वास्थ्य चौकी पुग्न पनि दुई दिनको बाटो हिँड्नुपर्ने बाध्यता रहेको छ। सोही समस्यालाई मध्यनजर गर्दै शिविरको आयोजना गरिएको हो।
शिविरमा सामान्य स्वास्थ्य जाँच, रक्तचाप र सुगरको जाँच, आवश्यकता अनुसार भिडियो एक्स रे, पिसाबको जाँच जस्ता सेवासँगै आवश्यक औषधि वितरण पनि गरिएको थियो। केही औषधिहरु ताप्लेचा स्वास्थ्य चौकी र डोल्पा जिल्ला अस्पतालमा हस्तान्तरण गरिएको थियो।
शिविरमा ६ जना डाक्टर, एक जना नर्स र दुईजना भोलेन्टियरको टोलीद्वारा ३५० जनालाई सेवा दिइएको थियो।