चैत्र महिनाको एक चिसो बिहानी, चिसो हावाको सर्सराहट
मनभरी उत्सुक्ता,जोस, जागर अनि भविष्य प्रतिको अन्योलता
कलेजको गेटअझ भनौ जिन्दगीको नयाँ बाटोको लागि नयाँ ढोका
जस्ले जिन्दगिका कैयौँ नयाँ सम्भावनाका ढोका खोल्दै छ युसिएमएसको गेट।
बच्चै देखिको सपना डाक्टर बन्ने
साथी भाइसँग खेल्दा पनि जहिले डाक्टर नै बन्ने
अनि डाक्टर नबनी भयो त?
सोच्थे पहिले पहिले डाक्टर बन्नु त मेरो मात्र निजि सपना
कैयौं साथिहरुको भिड्मा यो त आम सपना
सबै अझै धेरैको सपना गलामा स्टेथोस्कोप भिर्ने डाक्टरी सपना।
पीडा,
ओहो पीडा कसले सहन सक्छ
अहो मुस्कान
मुस्कान कसले ल्याउन सक्छ
पीडा भुलाएर?
पीडा अनि मुस्कान
डाक्टरको दैनिकी!
हस्पिटलबाट डिस्चार्ज हुँदै गरेको
बिरामीको मुस्कान,
दुखाइलाइ कम गरेर
अनुहारमा आएको मुस्कान,
जिन्दगीको आश मारेको बिरामीको
पुनरागमन पछिको मुस्कान,
भखरै जन्मिएको बच्चाको अनुहार
हेरेर मख्ख परेको आमाको मुस्कान
आहा! डाक्टरी जिन्दगी,
कलेजको जिन्दगी
जहाँ सिक्नु छ
मुस्कान अनि सेवा
सेवा,सिकाइ अनि मित्रता
मेडिकल कलेजको दैनिकी!
साथी,मित्र अनि दोस्त
अनि दोस्ती!
घरका कुरा,
बाआमाका कुरा,
पढाइका कुरा, शिक्षकका कुरा
दुखका कुरा सुखका कुरा!
पहिलो पटक बिरामी जाँच्दाको
खुसीको कुरा,
बिरामीको गाली खाँदाको दुखको कुरा,
एक आपसमा चित्त नबुझ्दाका
रिस भरिएका कुरा,
सानो सानो कुरामा धेरै खुसी भएका पलका कुरा
मन हल्चल गरिदिने सुन्दर अनुहार हरुको कुरा
अनि केटिहरुसँगको एक भेट अनि एकछिनको
खुसीको कुरा, भाउ नदिँदा कसैले दुखित हुदाको कुरा
अनि रातभरिका अनगिन्ती बकम्फुसे कुराहरुको कुरा
आहा!
मात्र मित्रताको कुरा
कहिले नटुङिने मित्रताको कुरा!
समय,
आहा समय
कहिले रोकिएन ,रोक्न पनि सकिएन
आफ्नै गतिमा बगिरह्यो
सेवा, सिकाइ अनि मित्रता
अनि एक ठाउँ अनि एक कलेज
कसरी सकिन्थ्यो र सधै सबैजना एकै ठाँउमा बस्न
सकिएन, अझ भनौ पाइएन
आएपछि फकिनु नै पर्ने बाध्यता।
घर फर्किने दिन वा कलेज छाड्ने दिन
डाक्टर बनेर घर फर्किने दिन
खुसीको कुरा
कलेज छाड्नुपर्ने
दुखको कुरा,
एकै ठाउँ,एकै वातावरण अनि
उही मित्रहरु अनि एउटै समय
एक किसिमको आशक्ती
गाह्रो धेरै गाह्रो
तर छुट्टिनु नै पर्ने
सुन्दर भविष्यको लागि
हात हल्लाउदै
सबैको आँखा बोल्दैछ,
तर शब्द अह केही ननिस्की
पीडा बोल्दैछ, विछोडको
आँखाले आँखालाई भन्दैछ
फेरि भेटौला!
जिन्दगीको कुनै कुनामा
कुनै पलमा यी सबै यादहरुलाई पुनर्ताजकी गर्न
अनि बितेका पललाई
आजको यादलाइ भोलिको आँखाबाट हेर्न
तबसम्मलाई अलबिदा!
(डा रिजाल काठमाडौं विश्वविध्यालय, कलेज अफ डेन्टल सर्जरी, पेरियोडोन्टिक्स विभागमा लेक्चररको रुपमा कार्यरत छन।)