काठमाडौं– काठमाडौं महानगरपालिकाले डेंगुको संक्रमण नियन्त्रणका लागि घरदैलो अभियानलाई निरन्तरता दिएको छ।
डेंगी एडिज जातको संक्रमित लामखुट्टेले मान्छेलाई यो रोग सार्ने भएकोले यसबाट बच्नु नै सबैभन्दा भरपर्दो उपाय हुने स्वास्थ्यकर्मीहरूले बताएका छन्। जनस्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठी भन्छन्, ‘डेंगी नियन्त्रणका लागि निदानात्मक, उपचारात्मक विधि र सचेतनाका लागि घरदैलो कार्यक्रम गरेका छौँ।’
महानगरले भदौ १३ गते सबै वडा क्लिनिकका इञ्चार्जहरुलाई बोलाएर डेंगु रोकथाम र नियन्त्रणका लागि प्रशिक्षण सञ्चालन गरेको थियो। त्यसको भोलिपल्ट अर्थात् भदौ १४ गतेबाट जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय संघ संस्थाका प्रतिनिधिहरुसँग अन्तरक्रियात्मक प्रशिक्षण गरेर घरदैलो कार्यक्रम सञ्चालन भइरहेको छ।
घरदैलो कार्यक्रममा पानी जम्न नदिन, पानी जम्ने ठाउँ पुर्न, टायर, पानीका बोतल, गमला, फुलदानी, कुलर, फ्रिजजस्ता पानी जम्मा हुने ठाउँको सरसफाइ गर्न सिकाइने महानगरले जनाएको छ।
सोमबारदेखि प्रयोगशाला भएका वडाहरुमा र्यापिड डाइग्नोस्टिक टेस्ट सुरु हुँदैछ। यसरी परीक्षण सुरु हुने ठाउँहरु रामघाट स्वास्थ्य केन्द्र, वडा १९, २६ र ३० का वडा क्लिनिक रहेका छन्।