काठमाडौं- जिल्ला अदालत जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहलाई नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गरेसँगै चिकित्सक संघको टोली गृहमन्त्रालय जाने भएको छ।
आवश्यक छलफलका लागि संघका केन्द्रिय उपाध्यक्ष डा अनिलविक्रम कार्कीलगाएतको टोली गृहमन्त्रालयमा जाँदै छ। 'डा साहविरुद्ध पक्राउ पुर्जी जारी भएको सुनेका छौं. यसै विषयमा छलफल गर्न गृहमन्त्रालय जाँदैछौ', उपाध्यक्ष कार्कीले भने, 'कुटपिटमा परेका डा साहविरुद्ध उल्टै पक्राउ पुर्जी जारी हुनु गम्भीर विषय हो। यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।'
उनले सरकारले हालै ल्याएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संसोधन) ऐन २०७९ कार्यान्वयन गर्ने विषयमा सबै गम्भीर हुनुपर्ने बताए।
जिल्ला प्रहरी कार्यालय जुम्लाले डा साहले प्रतिष्ठानमा उपचारका क्रममा बाल हिंसा गराएको आरोपमा जाहेरी दरखास्त दर्ता भएको र अनुसन्धान अभियोजनका लागि पक्राउ अनुमति मागेअनुसार पक्राउ पुर्जी दिएको जिल्ला अदालत जुम्लाले जनाएको छ।
एसिया इन्टरनेशनल मोडेल इङ्लिस स्कुल जुम्लामा कक्षा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका–२ जुम्ला भण्डारीवाडाका छ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा डा साहले बाल हिंसा गरेको जनाउँदै बालकका आमा आशा हमाल (शाही) ले जुम्ला प्रहरीमा यही भदौ १३ गते जाहेरी दरखास्त दर्ता गरेकी थिइन्।
यही भदौ २ गते प्रतिष्ठानको आकस्मिक कक्षमा ‘ड्युटी’ मा रहेका बेला डा साहले उपचार नगरेको र बालक तीर्थविक्रमलाई उपेक्षित एवं भेदभावपूर्ण व्यवहार गरेको आरोपमा बाल हिंसासम्बन्धी कसुर भएको व्यहोरा उल्लेख गर्दै प्रहरीमा जाहेरी दरखास्त परेको थियो।
केही दिनअघि मात्रै डा साहलाई प्रतिष्ठानमै कार्यरत एक कर्मचारीले कुटपिट गरेका थिए। आक्रमणका विषयमा यथार्थ जानकारी लिन नेपाल चिकित्सक संघका प्रतिनिधि जुम्ला पुगेका थिए।