रुकुम पश्चिम- रुकुम पश्चिममा पछिल्लो पाँच वर्षमा आठ सय गर्भवतीको शल्यक्रिया गरिएको छ। सामान्य रुपमा सुत्केरी हुन नसक्ने आठ सय गर्भवतीलाई शल्यक्रिया गरेर सुत्केरी गराइएको हो। जिल्ला अस्पताल सल्ले र चौरजहारी अस्पतालमा शल्यक्रिया सुविधा छ।
आर्थिक वर्ष २०७४/७५ मा एक सय ६४, २०७५/७६ मा एक सय ५३, आव २०७६/७७ मा एक सय ३१, २०७७/७८ मा एक सय ५६ र २०७८/७९ मा एक सय ९६ गर्भवतीको शल्यक्रिया गरिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ। जिल्ला अस्पताल सल्लेमा दुई सय तीन र चौजहारी अस्पतालमा पाँच सय ९५ गर्भवतीको शल्यक्रिया भएको बताइएको छ।
जिल्ला अस्पताल सल्लेभन्दा चौरजहारी अस्पतालमा बढी शल्यक्रिया भएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य निरीक्षक कालीबहादुर ओलीले जानकारी दिए। चौरजहारी अस्पतालमा जाजरकोट र सल्यानका गर्भवतीले सेवा लिएका छन्। जसका कारण चौरजहारीमा सेवा लिनेको सङ्ख्या ठूलो रहेको उनले बताए।
जिल्ला अस्पताल सल्लेमा आव २०७४/७५ मा ३८, २०७५/७६ मा ४७, २०७६/७७ मा २०, २०७७/७८ मा ४१ र २०७८/७९ मा ५७ जटिल खालको समस्या भएका गर्भवतीको अप्प्रेशन हुँदा चौरजहारी अस्पतालमा आव २०७४/७५ मा एक सय २४, २०७५/७६ मा एक सय छ, २०७६/७७ मा एक सय ११, २०७७/७८ मा एक सय १५ र २०७८/७९ मा एक सय ३९ को अप्प्रेशन भएको थियो।
जिल्ला अस्पताल सल्ले र चौरजहारी अस्पतालमा शल्यक्रिया सेवा उपलब्ध भएपछि जटिल खालको समस्या भएका गर्भवतीलाई जिल्ला बाहिर रिफर गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ। जिल्लामै सेवा दिँदा मातृ तथा शिशु मृत्युदरमा समेत कमि आएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।