काठमाडौं- गत साता नै सरुवा भए पनि पत्र पाइनसेकका स्वास्थ्य मन्त्रालय माताहतका ११औं तहका दुई चिकित्सकले अन्तत आज पत्र पाएका छन्।
ट्रमा सेन्टरका निमित्त मेसु डा प्रमोद यादवले आफ्नो जिम्मेवारी खोसिने भएपछि ट्रमामा सरुवा भएका डा रुद्र मरासिनीको पत्र रोक्न लगाएका थिए। जसका कारण डा मारासिनी र व्यवस्थापन महाशाखाको निर्देशकको जिम्मेवारी पाएका डा सर्वेश शर्माले पत्र पाउन सकेका थिएनन्।
स्वास्थ्य मन्त्रालयले गत बुधबार डा मरासिनीलाई ट्रमाको मेसु र डा शर्मालाई व्यवस्थापन महाशाखाको निर्देशकमा सरुवा गरेको थियो। तर उनीहरुले पत्र भने पाउन सकेका थिएनन्।
मन्त्रालय स्रोतका अनुसार पत्र निदन भन्दै दबाब आएपनि अन्तत: मन्त्रालयले आफूले गत बुधबार गरेको निर्णय अनुसार नै अगाडि बढेको छ।
'मन्त्रालयले गरेका निर्णयमा माथिबाट दबाब आउँदै रोकिने क्रम बढ्न थालेपछि सर्वत्र विरोध भएको थियो,'स्रोतले भन्यो, 'मन्त्रिस्तरिय निर्णय समेत कार्यान्वयनमा आउन नसक्ने भन्दै मन्त्रीकै आलोचना हुने अवस्था आएपछि यो पटक भने दबाबका बाबजुत पनि मन्त्रालय आफ्नो निर्णयमा अडिग भएको हो।'