काठमाडौं- नेपाल चिकित्सक संघले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहमाथि झुटा मुद्दा लगाइ जारी गरिएको पक्राउ पुजी खारेज गर्न माग गरेको छ।
संघको टोलीले आज प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय,स्वास्थ्य मन्त्रालय र महान्यायधिवक्ताको कार्यालयमा पुगेर डा करण साहको पक्राउ पुर्जी खारेज गरी दोषिमाथि कडा भन्दा कडा कारबाही गर्न माग गरेको संघका महासचिव बद्री रिजालले जानकारी दिए।
रिजालका अनुसार सो बारेमा सम्बन्धित निकायहरुबाट पहल सुरु भएको समेत संघले जनाएको छ।
गत भाद्र २ गते डा करण साहमाथि प्रतिष्ठानकै कर्मचारीले कुटपिट गरेका थिए। एसिया इन्टरनेशनल मोडेल इङ्लिस स्कुल जुम्लामा कक्षा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका–२ जुम्ला भण्डारीवाडाका छ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा डा साहले बाल हिंसा गरेको जनाउँदै बालकका आमा आशा हमाल (शाही) ले जुम्ला प्रहरीमा यही भदौ १३ गते जाहेरी दरखास्त दर्ता गरेकी थिइन्।
जिल्ला अदालत जुम्लाले अनुसन्धान अभियोजनका लागि डा साहलाई पक्राउ पुर्जी जारी गरेको छ।