काठमाडौं- नेपाल मेडिकल काउन्सिलले उपचारका क्रममा चिकित्सकको लापरबाही वा हेलचेक्राई सम्बन्धी घटनामा अनुसन्धान समितिको राय बिना पक्राउ पुर्जी जारी गर्न नमिल्ने जनाएको छ।
उपचार सम्बन्धी कानुनी व्यवस्था बारे स्पष्ट पार्दै काउन्सिलमा दर्ता भई चिकित्सकीय पेशा सञ्चालन गर्ने वा चिकित्सकीय कार्य गर्ने चिकित्सकहरुले कुनै व्यक्तिको स्वास्थ्योपचार गर्दा ज्यान मर्न वा अंगभंग हुन गएमा वा स्वास्थ्य उपचारको सिलसिलामा कुनै दुर्घटना भएमा अनुसन्धान समितिको राय बमोजिम कारबाही प्रक्रिया अघि बढाउनुपर्ने काउन्सिलले जनाएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहमाथि झुटा मुद्दा लगाइ जारी गरिएको पक्राउ पुर्जी जारी भएपछि काउन्सिलले विज्ञप्तिमार्फत यस्तो जनाएको हो।
'कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीले स्वास्थ्य उपचारका क्रममा कुनै लापरबाही वा हेलचेक्राई गरेको शंका लागेमा मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १९ को इलाज सम्बन्धी कसूरको दफा २३१, २३२, २३३ र २३८ ले कानुनी उपचार सम्बन्धि कानुनी व्यवस्था गरेको र उल्लेखित दफा बमोजिमको कानुनी उपचारको कार्यविधिले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १८९ को उपदफा ३ मा अनुसन्धान समितिको व्यवस्था गरेको छ। काउन्सिलले भनेको छ सोही दफाको उपदफा ४ मा समितिको राय बमोजिम मात्रै सम्बन्धित सरकारी वकील कार्यालयले मुद्दा दर्ता गर्ने व्यवस्था गरेकोले, निज चिकित्सकले कुनै हिंसा वा स्वास्थ्य उपचार गर्दा लापरवाही गरेको छ वा छैन तत् सम्बन्धमा अनुसन्धान समितिले अनुसन्धान गर्ने हुँदा यस विपरित मुद्दा दर्ता तथा प्रक्राउपूर्जी जारी गर्ने वा प्रक्राउ गर्ने लगायतका काम कारबाही नगर्न अनुरोध छ।
गत भाद्र २ गते डा करण साहमाथि प्रतिष्ठानकै कर्मचारीले कुटपिट गरेका थिए। एसिया इन्टरनेशनल मोडेल इङ्लिस स्कुल जुम्लामा कक्षा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका–२ जुम्ला भण्डारीवाडाका छ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा डा साहले बाल हिंसा गरेको जनाउँदै बालकका आमा आशा हमाल (शाही) ले जुम्ला प्रहरीमा यही भदौ १३ गते जाहेरी दरखास्त दर्ता गरेकी थिइन्।
जिल्ला अदालत जुम्लाले अनुसन्धान अभियोजनका लागि डा साहलाई पक्राउ पुर्जी जारी गरेको छ।
