काठमाडौं- जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटी (बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान)ले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक डा करण शाहमाथि जारी पक्राउ पुर्जी खारेज गर्न माग खारेज गर्न माग गरेको छ।
अपराधीलाई जोगाउने र पिडित चिकित्सकलाई नै दोषी करार गरी अपराधीलाई चोख्यान्ने अभिप्रायले पूर्वाग्रहपूर्ण तरिकाले जुम्लास्थित सरकारी वकिल कार्यालय र जिल्ला अदालतलाई प्रभाव र दवाबमा पारेर डा शाहविरुद्द पक्राउ पुर्जी जारी गरिएको भन्दै सोसाइटीले तत्काल खारेज गर्न माग गरेको छ।
सो विषयमा के भएको हो भन्ने कुरा नेपाल मेडिकल काउन्सिल र सम्बन्धित विज्ञको समितिले निष्कर्ष निकाल्नुपर्ने कानुनि प्रावधान रहेको भन्दै सोसाइटीले पक्राउ पूर्जी खारेज नगरे थप आन्दोलनका कार्यक्रम अघि सार्ने जनाएको छ।
'हचुवाको भरमा चिकित्सकविरुद्द पक्राउ पुर्जी जारी गर्नु अत्यन्त नाजायज कार्य हो। चिकित्सक संघको अल्टिमेटम बमोजिम नै अबको २४ घण्टा भित्र पक्राउ पूर्जी खारेज गर्नका लागि जोडदार माग गर्दछौँ। अन्यथा, ससक्त आन्दोलनका कार्यक्रम सहित जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटी अगाडी आउने कुरा जानकारी गराउन चाहन्छौँ।' सोसाइटीद्धारा जारी विज्ञप्तिमा भनिएको छ।
गत भाद्र २ गते डा करण साहमाथि प्रतिष्ठानकै कर्मचारीले कुटपिट गरेका थिए। एसिया इन्टरनेशनल मोडेल इङ्लिस स्कुल जुम्लामा कक्षा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका–२ जुम्ला भण्डारीवाडाका छ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा डा साहले बाल हिंसा गरेको जनाउँदै बालकका आमा आशा हमाल (शाही) ले जुम्ला प्रहरीमा यही भदौ १३ गते जाहेरी दरखास्त दर्ता गरेकी थिइन्।
जिल्ला अदालत जुम्लाले अनुसन्धान अभियोजनका लागि डा साहलाई पक्राउ पुर्जी जारी गरेको छ।
