नेपालगञ्ज- बाँकेको जानकी गाउँपालिका–३ मा सिकलसेल एनिमियाको सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र निर्माण कार्य सुरु भएको छ।
उक्त अनुसन्धान केन्द्रको सहरी विकासमन्त्री मेटमणी चौधरीले आज शिलान्यास गरे। उनले सिकलसेल अस्पतालको भवन निमार्णका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै अनुसन्धान केन्द्रका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मी, चिकित्सक र भौतिक पूर्वाधारको व्यवस्थापन आवश्यक रहेको बताए। पश्चिम तराई बाँके, बर्दियालगायतका जिल्लाका थारु समुदायमा सिकलसेलका बिरामी रहेका छन्।
उपचार अभावमा कतिपय सिकलसेल पीडितहरुले ज्यान गुमाउनु परेको अवस्थालाई मध्यनजर गर्दै थारु स्वास्थ्यकर्मीको पहलमा छुट्टै अस्पताल निमार्ण गर्न थालिएको हो। अस्पताल निमार्णका लागि विभिन्न अगुवाहरुले आर्थिक सहयोगसमेत गरेका छन्।
सो रोगका बिरामीको शरीर, हाडजोर्नी दुख्ने, पटकपटक जण्डिस, रक्तअल्पता र निमोनियाको समस्या देखिने चिकित्सहरु बताउँछन। सिकलसेलको पहिचान हुन नसक्दा अधिकांश पीडितले बाथ, यूरिकएसिड, हाडजोर्नी र नसा रोगको औषधि सेवन गर्न बाध्य छन्। बाँकेको कोहलपुर, राप्ती सोनारी र बैजनाथमा थारु समुदायको बाहुल्य बढी रहेकाले त्यहाँ यसका बिरामी बढी देखिएका छन्। सो रोग पत्ता लगाउन स्क्रिनिङ गराउन आवश्यक हुन्छ।
यसैबीच सहरी विकासमन्त्री चौधरीले नेपालगञ्जस्थित भेरी अस्पतालको नवनिर्मित भवनको आज निरीक्षण गरेका छन्। सो अवसरमा उनले तीन महिनामा काम सक्न निर्देशन दिएका छन्। निर्माण व्यवसायीले पनि तीन महिनाभित्रै काम सक्ने प्रतिबद्धता जनाएका छन् ।
मन्त्री चौधरीलाई अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल र मेडिकल सुपरिटेन्डेन्ट डा बद्री चापागाईंले स्वागत गर्दै अस्पतालले प्रदान गरिरहेको सेवा र समस्याबारे जानकारी गराएका थिए।