काठमाडौं- नेपालको औषधि बजारमा थप एक नयाँ औषधि उद्योग थपिएको छ। नेपाकेयर फर्मास्युटिकल्स प्राली नाम गरेको नयाँ कम्पनीले बिहीबारबाट आफ्नो उत्पादन बजारमा पठाउन थालेको हो।
स्वास्थ्य तथा औषधि क्षेत्रका युवा उद्यमीहरू मिलेर स्थापना गरेको नेपाकेयर फर्मास्युटिकल्स प्रालिले औषधि व्यवस्था विभागबाट मार्केट लाइसेन्स प्राप्त गरेपछि बिहीबारबाट आफ्ना उत्पादन बजारमा पठाएको छ। कम्पनीले सुरुमा ९ प्रकारका औषधि बजारमा पठाउन थालेको नेपाकेयरका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले जानकारी दिए।
२०७३ सालमा नयाँ औषधि उद्योगको रुपमा दर्ता भएको नेपाकेयरको कुल पूँजी ६५ करोड हो। रुपन्देहीको तिलोत्तमा नगरपालिका १२ मा १.५ विघा क्षेत्रफल जग्गा लिएर कम्पनीले प्लान्ट तथा कार्यालय निर्माण गरेको छ।
कम्पनीका अध्यक्ष श्रेष्ठले २० हजार वर्ग फिटमा प्लान्ट तथा ११ हजार वर्ग फिटमा अन्य सेवाका लागि प्रशासनिक कार्यालय तयार गरिएको बताए।
'गुणस्तरीय औषधि उत्पादनका लागि नेपाल सरकारको मापदण्ड, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) जीएमपीको निर्देशन र युएसएफडीएको प्रावधान अनुसार प्लान्ट तयार भएको छ,' अध्यक्ष श्रेष्ठले भने, 'हाम्रा उत्पादन गुणस्तरीय र सबै मापदण्ड पुरा गरेका छन्।'
कम्पनीका कार्यकारी निर्देशक सुनील श्रेष्ठका अनुसार नेपाकेयरले ट्याबलेट, क्याप्सुल, मलम र झोल औषधि उत्पादन गर्ने जानकारी दिए। उनले अहिले आफ्नो कम्पनीबाट ९ प्रकारका औषधि उत्पादन सुरु गरि बजार पठाउन थालिएको जानकारी दिए। त्यसमा मधुमेह, छाला, न्युरो, पेन किलर, ग्यास्ट्राइटिसमा प्रयोग हुने औषधिहरु छन्।
कार्यकारी निर्देशक श्रेष्ठले कम्पनीले आँखा, नाक, तथा कानमा राख्ने थोपा औषधि समेत उत्पादन सुरु गर्ने योजना भएको जानकारी दिए।
नेपा केयर नेपालमा औषधि उत्पादन गर्ने ७६ औँ कम्पनी बनेको औषधि उत्पादक संघका उपाध्यक्ष सन्तोष बरालले जानकारी दिए।
यसैबीच, स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले स्वदेशी औषधि उद्योगको विकास र विस्तारका लागि सरकार सहयोग गर्न तयार रहेको बताए। नेपाकेयरले आफ्ना उत्पादन बजारमा पठाएको औपचारिक जानकारी दिन आयोजना गरेको कार्यक्रममा राज्यमन्त्री केसीले स्वदेशी उत्पादनको प्रवर्धान गर्ने सरकारको नीति रहेको बताएका हुन्।
उनले औषधि उद्योगहरुलाई आफ्नो दायित्व विर्सन नहुने भन्दै आम जनताको हित सम्झेर काम गर्न आग्रह गरे।
'गुणस्तरीय औषधिहरु जनतालाई सहज रुपमा उपलव्ध गराउनुहोस्, राज्यले तोकेका मापदण्ड पुरा गर्नुहोस र काम अघि बढाउनुहोस् । त्यसमा राज्यले के गर्नुपर्छ हामीलाई भन्नुहोस् सहयोग गर्न हामी तयार छौँ,' उनले भने।
राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले नेपाली औषधि उद्योगको क्षेत्रमा नयाँ उद्योग थपिनु आफैंमा खुशीको कुरा हो भन्दै, स्वास्थ्य सेवामा टेवा दिनका लागि, रोजगारी सिर्जना गर्न तथा आर्थिक प्रगति गर्न सफल होस भनि शुभकामना दिइन्।