ललितपुर- ललितपुरको कुपन्डोलनमा प्यासिफिक बहुविशेषज्ञ क्लिनिक सुरु भएको छ। एउटै छातामुनी धेरैभन्दा धेरै विशेषज्ञ चिकित्सकहरुबाट सेवा दिने उद्देश्यले प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिक स्थापना गरिएको हो।
क्लिनिकको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शुक्रबार औपचारिक उद्घाटन गरेका छन्। उद्घाटन गर्दै मेयर महर्जनले क्लिनिक अस्पताल सरहकै रहेको भन्दै सफलताको शुभकामना दिए।
उनले क्लिनिकसँग महानगरपालिकाले सहकार्य गर्न तयार रहेको पनि जानकारी दिए।

क्लिनिकमा निसन्तान दम्पतिका लागि लक्षित गर्दै इनभिट्रो फर्टिलाइजेसन (आइभीएफ), डेन्टल, स्त्री तथा प्रसूति, फिजियोथेरापी, मधुमेह तथा थाइराइड, छाला, नाक, कान, घाँटी, बाल रोग, हाडजोर्नी तथा नसा, प्रयोगशाला लगायतका सेवाहरु रहेको छ।
क्लिनिकमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकले ओपिडी सेवा दिनुका साथै आकस्मिक उपचार सेवाको समेत व्यवस्था रहेको छ ।
‘क्लिनिक भन्नेवित्तिकै सामान्य उपचार सेवा दिने संस्था भनेर बुझ्ने गरिन्छ। तर हाम्रो बहुविशेषज्ञ क्लिनिकमा विभिन्न विषयमा दक्ष विज्ञ चिकित्सकले विशिष्ट सेवा दिनेछौं,’ प्यासिफिक क्लिनिकका प्रमुख डा काजन रानाभाटले भने, ‘यो क्लिनिकबाट हामीले सबैखालको विशेषज्ञ सेवा दिनेछौं। नयाँ ज्ञानसिपमा आधारित रहेर उपचार सेवा दिइनेछ।’
डा रानाभाटका अनुसार क्लिनिकमा आधुनिक प्रविधि र प्रणालीको प्रयोगबाट छिटोछरितो सेवा प्रदान गरिनेछ।
क्लिनिकका उपप्रमुख आश्रय रन्जितकारले क्लिनिकले वृद्धा तथा अशक्तलाइ सहुलियतमा सेवा दिने जानकारी दिए। ‘हामी महानगरपालिका र वडाहरुसँग मिलेर काम गर्नेछौं,’ उनले भने, ‘निजी क्लिनिक भए पनि हामी सामाजिक उत्तरदायित्व भुल्दैनौं।’
क्लिनिकले बिरामी भएपछि निको पार्ने प्रक्रियामा मात्र नभइ बिरामी हुन नदिनका लागि जनचेतना जगाउने विषयमा पनि सक्रिय रुपमा काम गर्ने उनले जानकारी दिए।

