काठमाडौं- जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सक संघको अध्यक्षमा डा पुष्पमणि खराल निर्वाचित भएका छन्। नेपाल चिकित्सक संघको कार्यालयमा शनिबार सम्पन्न निर्वाचनमा डा खरालले प्रतिस्पर्धी डा भोलाराम श्रेष्ठको भन्दा १५ मत बढी ल्याउदै विजयी भएका हुन्।
निर्वाचनमा कुल ९१ मत खसेको थियो। त्यसमध्ये डा खरालले ५३ मत पाएका थिए भने डा श्रेष्ठले ३८ मात्रै पाएका थिए।
संघका अन्य पदमा भने सबै निर्विरोध भएका छन्।
संघको वरिष्ठ उपाध्यक्षमा डा सञ्जिब तिवारी, उपाध्यक्षमा डा सर्वेश शर्मा, महासचिवमा डा विश्वराज दवाडी, कोषाध्यक्षमा डा सुरेश नेपाल, सहसचिवमा डा विकास गौचन र सहकोषाध्यक्षमा डा रोहिन्द्र पाण्डे निर्विरोध भएका छन्।
यसैगरी, सदस्यहरुमा डा आरती शाह, डा विनोद दंगाल, डा सञ्जयकुमार गुप्ता, डा सन्तोष बास्तोला, डा तिर्थमान श्रेष्ठ र डा त्रिभुवनचन्द्र झा निर्विरोध भएका छन्।