काठमाडौं- सरकारले डेंगु रोकथामका लागि लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान संचालन गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै देशैभर लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान संचालन गर्न आग्रह गरेको छ।
डेंगु नियन्त्रण तथा रोकथामका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्न आग्रह गर्दै मन्त्रालयले प्रत्येक शनिबार बिहान दश बजे दश मिनेट छुट्याई घरभित्र र बाहिर लामखुट्टेले फुलपार्ने ठाउँहरु 'खोजौ र नष्ट गरौ' भन्ने नारासहित राष्ट्रिय अभियान सञ्चालन गर्ने जनाएको छ।
अभियान कार्यान्वयन गर्नको लागि स्थानीय जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, पत्रकार, संघसस्थाहरु तथा सम्पर्ण सरोकारवाला निकायलाई स्थानीय तहमार्फत परिचालन गरी आ-आफ्नो वडाका हरेक घरमा अभियान संचालन गर्ने मन्त्रालयको भनाई छ।
यस्तै सबै स्वास्थ संस्थाहरुबाट डेंगुका बिरामीहरुको विवरण स्थानीय तहमार्फत स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई नियमित पठाउनसमेत आग्रह गरेको मन्त्रलयका वरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटाले जानकारी दिए।