काठमाडौं- मानेडाँडा आधारभूत अस्पताल भोजपुरबाट सम्पादित कार्यक्रमहरुको वार्षिक समीक्षा सम्पन्न भएको छ।
तीन आर्थिक वर्षको सूचकहरुको तुलनात्मक समीक्षा गरी हाम्रा निर्धारित लक्ष्य हासिल गर्न अझै के कति अभ्यास गर्न बाँकी छ र अस्पतालकुन अवस्थामा भन्ने बरेमा छलफल भएको छ। आर्थिक वर्ष ०७८/७९ का कति लक्ष्य हासिल भयो भन्ने विषयमा समीक्षा गरिएको छ।
समीक्षामा व्यवस्थापन समितिले कर्मचारी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले प्रत्यक्ष रूपमा कुशलतापूर्वक जिम्मेवारी पूरा गरेकोमा धन्यवाद दिएको छ।
समीक्षासँगै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, कार्यालय सहयोगी कर्मचारीहरु र महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुलाई सम्मान गरिएको छ। पौवादुङमा ४ का वडा अध्यक्ष तथा व्यवस्थापन समितिका अध्यक्ष रमेश राईको अध्यक्षतामा आयोजित कार्यक्रममा तीन आर्थिक वर्ष २०७६/७७, २०७७/७८ , र २०७८/७९ मा अस्पतालले प्रदान गरेका स्वास्थ्य सम्बन्धी गतिविधिहरुको तुलनात्मक समीक्षा गरिएको थियो। तीन आर्थिक वर्षको तुलनामा यस ०७८ ७९ मा केही सूचकहरुमा राम्रो प्रगति रहेको र कार्यक्रमहरु प्रभावकारी ढंगले सम्पादन भएको अस्पतालका जनस्वास्थ्य निरीक्षक हेमन्त सुन्दासले जानकारी दिए। तथ्यांकहरु अस्पतालका प्रमुख जनस्वास्थ्य निरीक्षक सुन्दासले प्रस्तुतीकरण गरेका थिए।
कार्यक्रममा सहभागी भएका जनप्रतिनिधिहरु, व्यवस्थापन समितिका पदाधिकारीहरु, महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मी कर्मचारीहरु समक्ष अस्पतालको भौतिक संरचना, वित्तीय आर्थिक अवस्था, कर्मचारी दरबन्दी अनुसारको पदपूर्ति, खोप तथा गाउँघर क्लिनिक, पोषण, महामारी रोग, सर्नेनसर्ने रोग, सुरक्षित मातृत्व तथा नवशिशु स्वास्थ्य, अपाङ्गता रोकथामसहितका स्वास्थ्य सम्बन्धीका विभिन्न सूचकहरुको लक्ष्य तथा प्रगति लगायतका कार्यक्रमहरु प्रस्तुतीकरण गरिएको थियो।
आउने दिनहरूमा मानेडाँडा आधारभूत अस्पताललाई भोजपुर जिल्लाको स्थानीय तहहरु मध्येकै उत्कृष्ट एवं नमुना अस्पताल बनाउन लागिपर्ने अस्पतालका कर्मचारीहरुले प्रतिबद्धता व्यक्त गरेका छन्।



