हेटौंडा- बागमती प्रदेशमा फैलिएको डेंगु रोगबारे अनुसन्धान एवं निगरानी गर्न सहमति पत्रमा हस्ताक्षर भएको छ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालय र संघीय स्वास्थ्य मन्त्रालय अन्तरगत हेटौंडामा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रबीच प्रदेशमा फैलिएको डेंगु रोगको अनुसन्धान एवं निगरानी गर्न सहमतिपत्रमा हस्ताक्षर भएको हो।
स्वास्थ्यमन्त्री निमा लामाको उपस्थितिमा मन्त्रालयका सचिव बद्रीबहादुर खड्का र केन्द्रका निर्देशक डा विश्वबन्धु बगालेबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
केन्द्रले डेंगु प्रभावित बागमती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र मकवानपुरमा यसको प्रभाव, संक्रमणको अवस्था, निगरानीका लागि अपनाउनुपर्ने रणनीति लगायतका क्षेत्रमा अनुसन्धान गरि सुझाव दिने मन्त्रालयका प्रवक्ता दीपक तिवारीले जानकारी दिए। अनुसन्धान तथा निगरानीले बागमती प्रदेशमा डेंगु रोग नियन्त्रणका लागि गरिएका प्रयासलाई थप व्यवस्थित गर्न सहयोग पुग्ने उनको भनाई छ।
बागमती प्रदेशमा अहिलेसम्म ६ हजार ६ सय ५४ जना डेंगुका बिरामी रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार ललितपुरमा सबैभन्दा बढि ३ हजार ७९ जना, काठमाडौंमा १ हजार ७ सय ९७ जना, मकवानपुरमा १ हजार ४५ जना, चितवनमा १ सय ७९ जना, भक्तपुरमा १ सय ७० जना, धादिङमा १२१ जना, नुवाकोटमा १४, सिन्धुली ६६ जना, रामेछाप २२ जना, दोलखा १० जना, काभ्रे ४४, सिन्धुपाल्चोकमा ७ जना विरामी रहेका छन्।