काठमाडौं- डा भगवान कोइरालाको पुस्तक ‘हृदय’को विशेष संस्करणको विमोचन भएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा कोइराला आफैंले ओपन हार्ट सर्जरी गरेका दुई बालबालिकालाई विशेष अतिथि बनाएर पुस्तक विमोचन गरिएको हो। कार्यक्रममा उनले सर्जरी गरेका १३ वर्षीया एलिजा सन्त र १३ वर्षीय सौरभ जंग केसी उपस्थिति थिए।
कोइरालाको नेतृत्वमा बन्दै गरेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) को निर्माण सहयोगार्थ प्रकाशक फाइनप्रिन्टले उनको पुस्तकको विशेष संस्करण ल्याएको हो।
किताबमा आफ्नो जीवनमा भोगेका संघर्षका अनुभव, उनले देखेका स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई समेत विश्लेषणात्मक धारणासहितको पुस्तक विषयहरू भएको डा कोइरालाले बताएका छन्।
विशेष सीमित संस्करण एक पटकका लागि २५ सयप्रति मात्र मुद्रण भएको छ। जसको अङ्कित मूल्य पच्चीस हजार रुपैयाँ रहेको छ। विशेष संस्करणलाई डा कोइराला आफैंले प्रत्येक पुस्तकमा क्रमसङ्ख्या अङ्कित र हस्ताक्षर गरी प्रमाणित गर्ने बताएका छन्।
असोज १ बाट नियमित संस्कर
असोजको १ गतेदेखि पुस्तकको नियमित संस्करण पनि बजारमा उपलब्ध हुनेछ। जसको अङ्कित मूल्य काठमाडौंमा ६५० र काठमाडौं बाहिर ५७५ रुपैयाँमा पाठकका निम्ति उपलब्ध हुनेछ। नियमित संस्करणको पनि ५० प्रतिशत रोयल्टी किओचलाई हस्तान्तरण गर्ने डा कोइरालाले बताएका छन्। विशेष संस्करणको बिक्रीबाट प्राप्त हुने रुपैयाँ प्रकाशकले आफ्नो लागत र लेखकले रोयल्टी केही नकटाई सिधै हस्पिटललाई हस्तान्तरण गरिनेछ।
काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ (किओच) हाल काठमाडौंको बुढानिलकण्ठमा निर्माणाधीन अवस्थामा छ। साथै, त्यसको पहिलो प्रदेश शाखाका रूपमा झापाको दमकमा ५० शय्याको बाल अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ। यस्ता हस्पिटल सातै प्रदेशमा विस्तार गर्ने कोइरालाको लक्ष्य छ।
विगत तीन दशकदेखि मुटुको उपचारमा खटिएका डा कोइरालाले आधारभूत स्वास्थ्य सेवा नपाएकै कारण ज्यान गुमाइरहेका बालबालिकाहरुको उपचारक निमित्त विशिष्टीकृत बाल अस्पताल बनाउने सपना देखेको बताएका छन्।
कोइरालाको यही लक्ष्यलाई सानै स्तरमा भए पनि सघाउने उद्देश्यले उनको पुस्तक ‘हृदय’को विशेष संस्करण ल्याएको फाइनप्रिन्टका निरज भारीले जनाएका छन्। पुस्तकको विशेष संस्करण फाइन प्रिन्टकै वेभसाइटबाट र ९८०८२२४४६४ मा फोन गरेर अर्डर गर्न सकिन्छ।