धनगढी- डाक्टर गोविन्द केसीले अनसन शुरु गरेको स्थानमा कैलाली जिल्ला प्रहरी कार्यालयले सुरक्षाकर्मी खटाएको छ।
डाक्टर केसीले अनसन सुरु गरेको श्रीकृष्ण मन्दिर धर्म सत्संग समितिको धर्मशाला भवनमा प्रहरी कार्यालयले प्रहरी सहायक निरीक्षक उत्तरसिंह साउदको कमाण्डमा तीन जनाको प्रहरी टोली सुरक्षाका लागि परिचालन गरेको हो।
प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले टोलीलाई चौबिसै घण्टा सुरक्षा दिनका लागि खटाइएको बताए।
डाक्टर केसीले धर्मशाला भवनको १०८ र १०९ नम्बरको कक्षमा बसेर सोमबारदेखि आफनो २०औं अनसन सुरु गरेका हुन।
यसअघि दिउसो धनगढी पुगेका डाक्टर केसीले जिल्ला समन्वय समितिको भवनमा विभिन्न व्यक्तिहरुसंग भेटघाट तथा छलफल गरेका थिए। डाक्टर केसी धनगढी पुगेपश्चात जिससको सभाहलमा कैलाली प्रमुख जिल्ला अधिकारी किरण थापासँग छलफल गरेका थिए। उनले अनसनका लागि कुन स्थानमा बस्ने भन्दै रायसुझाव लिएका थिए।
डाक्टर केसीलाई धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले पनि भेटघाट गरेका थिए। डा केसीसँगको भेटपछि उनले भने, ‘अनसनका क्रममा हुन सक्ने क्षतिलाई मध्यनजर राख्दै उपमहानगरपालिकाले आवश्यक सामाग्रीको व्यवस्थापनमा कुनै किसिमका कमजोरी हुन दिने छैन।’
डाक्टर केसीलाई जनता समाजवादी पार्टीकी प्रदेश सभा सदस्य मालामती राना, एकीकृत समाजवादी पार्टीकी प्रदेश सभा सदस्य चुनकुमारी चौधरी लगायतले पनि भेटघाट गरेका थिए।