काठमाडौं- नेपाल सघन उपचार विकास प्रतिष्ठानको आयोजनामा विश्व सेप्सिस दिवस मनाइएको छ। क्रिटिकल केयर सर्भिस एसोसिएसन अफ नेपाल र नेप्लीज सोसाइटी अफ क्रिटीकल केयर मेडिसिनको सहकार्यमा दिवस मनाइएको हो।
विभिन्न अस्पतालमा कार्यरत डाक्टर र नर्सको सहभागितामा सेप्सिस वाक र आइसीयू सेप्सिस क्विज पनि आयोजना गरिएको थियो।
कार्यक्रमको उद्घान गर्दै त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्लेले यस्ता जनचेतनामुलक कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने बताए। सेप्सिसबाट विश्वभर हरेक वर्ष लाखौंको ज्यान जाने गरेको छ।
के हो सेप्सिस ?
शरीरको कुनै अंगमा संक्रमण भयो र त्यो संक्रमण त्यही ठाउँमा मात्र सीमित नभएर शरीरका अरु महत्वपूर्ण अंगमा असर पुर्यायो भने त्यसलाई मेडिकल भाषामा सेप्सिस भनिन्छ। सेप्सिसलाई 'लाइफ थ्रेटनिङ अर्गान डिस्फक्सन' पनि भनिन्छ।
संक्रमण हुँदैमा सेप्सिस नै हुन्छ भन्ने हुँदैन। छाती दुख्नु, खोकी लाग्नु, निमोनिया हुनुजस्ता समस्या भएमा समयमै उपचार गराई चिकित्सकको सल्लाहमा औषधि प्रयोग गरे निको हुन्छ।
तर, सही समयमा उपचार हुन सकेन र संक्रमणले शरीरका अन्य अंगको कामलाई असर पुर्याउन थाल्यो भने, त्यो अवस्थालाई सेप्सिस भनिन्छ। जस्तै, छातीमा असर पर्न गयो भने अक्सिजनको सन्तुलन बिग्रिएर भेन्टिलेटरमा राखेर अक्सिजन दिनुपर्ने हुन सक्छ। मुटुमा असर परेर ब्लड प्रेसर कम हुँदा मेडिकल सपोर्ट लिएर ब्लड प्रेसरको सन्तुलन मिलाउनुपर्ने हुन सक्छ। संक्रमणकै कारण किड्नीमा असर परेर पिसाब कम हुने र डायलाइसिस गर्नुपर्ने, रगतमा असर परेर शरीरमा रगत बन्ने प्रक्रियामा कमी आउने, लिभरमा असर परेर लिभरले राम्रोसँग काम नगर्ने, दिमागमा असर गरेर दिमागले राम्रोसँग काम नगर्ने आदि समस्या आउन सक्छ। सेप्सिस संक्रमण जति बल्झिँदै गयो त्यति जटिल बन्दै जाने समस्या हो। यो नवजात शिशुदेखि वृद्धवृद्धा जोसुकैलाई पनि हुन सक्छ।
सेप्सिस हुने सम्भावना बालबालिका र वृद्धवृद्धालाई बढी हुन्छ। यो उमेरमा शरीरको रोग प्रतिरोधात्मक क्षमता (इम्युन पावर) कम हुन्छ। त्यसैगरी, पहिले नै कुनै रोगका कारण शरीरमा रोग प्रतिरोधी शक्ति घटेको बिरामीलाई सेप्सिस हुने सम्भावना धेरै हुन्छ। मिर्गौला प्रत्यारोपण गरेका बिरामी, जसले इम्युन पावर घटाउने औषधि सेवन गरिरहेका हुन्छन्, उनीहरुलाई सेप्सिसको खतरा बढी हुन्छ। कुनै दुर्घटनामा परी वा अन्य रोगका कारण आइसियूमा उपचार गराइसकेका वा गराइरहेका बिरामीलाई पनि सेप्सिस हुने सम्भावना बढी हुन्छ। सेप्सिस एउटै कारणले मात्र नभई जुनसुकै प्रकारका संक्रमणले हुन सक्छ।