काठमाडौं- डाक्टर र उनीहरुका परिवारका लागि लक्षित गर्दै नेपाल चिकित्सक संघको कार्यालयमा राष्ट्रिय परिचय पत्र बनाउन सुरु गरेयता हालसम्म एक हजार चार सय ५३ जनाले परिचय पत्र बनाएका छन्।
संघका कोषाध्यक्ष डा प्रकाश बुढाथोकीका अनुसार चिकित्सक र उनीहरुका परिवारका सदस्यले राष्ट्रिय परिचय पत्र बनाएका हुन्। परिचय पत्र बनाउनेको संख्या दैनिक बढीरहेको उनले जानकारी दिए। उनका अनुसार संघको कार्यालमया अब एक साता परिचय पत्र बनाउने समय रहेको छ।
'सुरुमा राष्ट्रिय परिचय पत्र बनाउन आउनेको संख्या कम थियो। तर अहिले धेरै चिकित्सक र उनीहरुका परिवार सँगै आइरहेका छन्,' उनले भने, 'अब एक साता समय बाँकी रहेकाले परिचय पत्र बनाउन बाँकीलाई संघको कार्यालयमा आउन आग्रह गर्दछु।'
उनका अनुसार संघको कार्यालयमा सोमबारदेखि बिहीबारसम्म बिहान १० देखि ४ बजेसम्म, शुक्रबार १० देखि १२ र शनिबार १० देखि ३ बजेसम्म परिचय पत्र बनाउन सकिनेछ।
परिचयपत्र बनाउन नेपाली नागरिकताको सक्कल प्रमाणपत्र, विवाहितको हकमा नागरिकतामा पतिपत्नीको नाम उल्लेख नभएमा विवाह दर्ताको प्रमाणपत्र वा नाता खुल्ने प्रमाणपत्र अनिवार्य ल्याउनुपर्ने छ।