काठमाडौं– असोज १ गते शनिबार विश्वकै ठूलो रक्तदान कार्यक्रम हुने भएको छ। विश्वभरबाट दुई लाख बढी युनिट रगत संकलन गर्ने लक्ष्यका साथ रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हो।
यसअन्तर्गत नेपालमा तेरापंथ युवक परिषदले देशका विभिन्न नौ सहरबाट एकैदिन १५ सय युनिटसम्म रगत संकलन गर्ने उद्देश्यका साथ ‘मेगा ब्लड डोनेशन ड्राइभ’ गर्न लागेको छ।
रक्तदान कार्यक्रमका लागि काठमाडौं, ललितपुर र कीर्तिपुरमा सात वटा क्याम्प लाग्ने र बाँकी नौ सहरमा १८ देखि २० वटा क्याम्प लाग्ने परिषदले जनाएको छ।
उक्त दिन विश्वभरमा दुई हजारभन्दा बढी क्याम्पमार्फत दुई लाख बढी युनिट रगत संकलन गर्ने लक्ष्य रहेको छ।
यसअघि सन् २०१४ मा विश्वभरबाट १ लाख बढी युनिट रगत संकलन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाइएको थियो।
अहिले विगतको समयमा कोभिड–१९ र डेंगु रोगले गर्दा ब्लड बैंकमा रगतको कमी भइरहेकाले रगत आपूर्तिमा सहयोग पुर्याउन यो रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ।
ब्लड डोनर सोसाइटी नेपाल, नेपाल रेडक्रस सोसाइटी, पशुपति सेवा संघ, मारवाडी युवा मञ्च, लायन्स क्लबलगायतबाट उक्त कार्यक्रमका लागि सहयोग प्राप्त भएको संस्थाका अध्यक्ष कैलाश नौलखाले बताए।
उक्त दिन नजिकको क्याम्पमा गएर रक्तदान गर्न संस्थाले सबैलाई आग्रह गरेको छ।