काठमाडौं- धनगढीमा अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। तर उनले औषधि लिन मानेका छैनन्। उनमा रिंगटा लाग्ने, थकान लाग्ने, श्वास फेर्न समस्या हुने, रक्तचाप र मुटुको धड्कनमा गडबडी लगाएतका समस्या देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ। ब्लड प्रेसर पनि घटेर ९०/६० पुगेको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ।
डा केसीको शरीरमा पोषणतत्व र पानीको असुन्तलनले बेहोस हुन सक्ने, कम्पन हुन सक्ने (सिजर), रोगसँग लड़न सक्ने क्षमता कम भई विभिन्न संक्रमण हुन सक्ने, मुटुको धड्कन, श्वासप्रश्वास र रक्तचाप गडबढ भई अंग र प्रणालीमा खराबी हुन सक्ने वा ज्यान जोखिममा पर्न सक्ने अस्पतालले जनाएको छ।
धनगढी पुगेर श्रीकृष्ण मन्दिरको धर्मशालाबाट २०औँ सत्याग्रह थालेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ।
केसीले मुखबाट पानी र नशा वा रिङगर ल्याक्टेट बाहेक कुनै पनि पद्धार्थ लिन अस्विकार गरेका छन्।
हाल शुद्ध पानी, नर्मल स्लाईन र रिङगर ल्याक्टेट मात्र प्रदान गरिएको र चिकित्सकिय टोलीबाट नियमित स्वास्थ परीक्षण गराई शरीरको अक्सिजन, मुटुको धडकन र रक्तचाप अनुगमन भइरहेको अस्पतालले जनाएको छ।
स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दीअनुसार क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरूको दरबन्दी तत्काल हालको बेड संख्याअनुसार बढाइनुपर्ने, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी हुनुपर्ने, सार्वजनिक पदमा बस्नेहरूको स्वार्थको द्वन्द्व रोक्न तत्काल कानुनी व्यवस्था गरिनुपर्ने, प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको मापदण्डसहित ऐनको व्यवस्था गरिनुपर्ने, चिकित्सा शिक्षा ऐनबमोजिम विसं.२०८५ भित्र नेपालका मेडिकल शिक्षण संस्थाहरूलाई गैरनाफामूलक बनाउने व्यवस्था कार्यान्वयन गरिनुपर्ने र विद्युतीय गाडीहरूको विस्तृत प्रयोग र विस्तारका लागि प्राथमिकता साथ अविलम्ब कानुनी व्यवस्था गरिनुपर्ने माग अघि सारेका थिए।