काठमाडौं- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले चिकित्सा शिक्षाका अभियन्ता अनशनरत डा गोविन्द केसीका मागप्रति गम्भीर भएको बताएका छन्।
स्वास्थ्य राज्यमन्त्री केसीले अभियन्ता डा केसीले उठाएका मागहरुका विषयमा गहन छलफल भइरहेको बताएका हुन्। उनले भने, ‘उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गएको विषयप्रति मेरो ध्यानाकर्षण भएको छ। यो विषयलाई समाधान गर्न अन्तरमन्त्रालय समन्वय आवश्यक छ । हामीले यस विषयमा छलफल गरिरहेका छौं।’ डा केसी धनगढीमा अहिले अनशनरत छन् ।
तोकिएको दरबन्दीअनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालको दरबन्दी तत्काल हालको बेड संख्याअनुसार बढाइनुपर्ने, जनसंख्याको वृद्धिअनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गरिनुपर्ने माग राख्दै अनशनरत छन्।
संविधानले सबैका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गरिनुपर्ने, सरकारले तोकेको सूचीअनुसारका सबै निःशुल्क औषधि आवश्यक मात्रामा सबै स्वास्थ्य संस्थामा भएको सुनिश्चित गरिनुपर्ने डा केसीको माग छ।